माधव नेपालले एमालेबाट लगेको सीट पनि जोगाउन सकेनन्
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाल असफल भएको र माधव नेपालले लगेको सीटको ब्याज त कताकता साँवा पनि जित्न नसकेको टिप्पणी गर्नुभएको छ ।
ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले विजयको प्रमाणपत्र बुझेपछि निर्वाचनमार्फतत जनताले सत्ता गठबन्धनको औचित्य समाप्त पारिदिएको र प्रचण्ड र माधव नेपालले अब देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य पनि गुमाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मंसिर ४ गतेको चुनावले तपाईहरुको गठबन्धनको औचित्य समाप्त भएको छ । कांग्रेसलाई बोक्नुपर्ने, प्रचण्ड र माधव नेपालले देउवाको दुईतिर समातेर कुर्सीमा बसाउनुपर्ने औचित्य समाप्त भएको छ । उहाँहरुले पनि अब नयाँ ढंगले सोच्नुहोस् भन्ने आग्रह गर्छु ।”
भट्टराईले एमालेसँग मिलेर चुनाव लड्दा ५३ सीट जितेको माओवादीले यसपटक कांग्रेससँँग मिलेर लड्दा २५ सीटमा खुम्चिने अवस्था रहेको दावी गर्दै कांग्रेससँगको समीकरण फाइदाजनक भयो कि भएन भनेर समीक्षा गर्न माओवादीलाई सुझाव दिनुभयो ।
भट्टराईले भन्नुभयो, “प्रचण्डले यही ताप्लेजुङ आएर अनन्तकालसम्म गठबन्धन रहन्छ भन्नुभयो । तर एकपटक सोच्नुस् आज तपाईंको हालत के भयो ? एमालेको विरोध गरेर, केपी ओलीको विरोध गरेर केही फाइदा छैन तपाईंहरुलाई । सत्ताको भर्याङमात्र बन्ने हो भने माओवादीको के औचित्य छ ?”
एमालेको नेतृत्वमा विशाल कम्युनिस्ट आन्दोलन अघि बढ्न नदिन प्रचण्ड माधवले साथ दिएको आरोप लगाउँदै भट्टराईले फेरि पनि त्रिशंकु प्रतिनिधि सभा बन्ने अवस्था रहेको र त्यो मुलुकको हितमा नरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्