जन सरोकार

दाइजोबिना विवाह गर्ने छ जोडी सम्मानित

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा दाइजोबिना विवाह गरेका छ जोडीलाई सम्मान गरिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोबिना विवाह गरेका उनीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

विवाहमा गरिने अनावश्यक खर्चलाई सामाजिक काममा लगाउने उद्घोषका साथ वैवाहिक जीवनमा बाँधिएका नव जोडीलाई सम्मान गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो ।

“विवाहलाई दाइजोरहित बनाउन निकै चुनौतीपूर्ण भएका बेला यहाँका छ जोडी उदाहरण बन्नुभएको छ”, उहाँले भन्नुभयो, “महिला हिंसाको एउटा जडका रुपमा रहेको दाइजो प्रथाको उल्मुलनका लागि राम्रो सुरुवात हो ।”

सम्मानित हुनेमा सलाउद्दीन मन्सुरी र नाजमा खातुन, अशोक हरिजन र बविता हरिजन, पंकज गिरी र मनिषा गिरी, प्रमोद हरिजन र अनिशा हरिजन, शैलेशकुमार कोइरी र निर्जलीकुमारी कोइरी, असिउद्दीन अन्सारी र अम्जाहान खातुन हुनुहुन्छ । सम्मानित हुने जोडी पंकज गिरी र मनिषा गिरीले आफूहरु कुप्रथाको विरुद्धमा रहेको बताउनुभयो ।

सम्मान कार्यक्रमपछि पाल्हीनन्दन गाउँपालिका–६ लंगडीपाकडदेखि वडा नं. ५ विसुनपुरा भन्सार चोकसम्म सचेतना ¥याली निकालिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.