जन सरोकार

विश्वकप फुटबलमा २ करोड रुपैयाँभन्दा बढीको सट्टेबाजी गराउने पक्राउ

विश्वभरका खेलप्रेमीहरुको ध्यान तानिरहेको कतारमा जारी विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले एकजनालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको छ ।

समाचार अनुसार ‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाडौं २ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरिएको हो ।

सट्टेबाजीको एजेन्टका रुपमा काम गरिरहेको गौलीलाई प्रहरीले बुधबार काठमाडौं महानगरपालिका–२८ कमलपोखरीबाट पक्राउ गरेको हो । उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसनसमेत पाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

गौलीले ईसेवा, आईएमई पे, खल्तीबाट मात्रै २ करोड ३६ लाख ३३ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । त्यस्तै, २६ वटा अन्य डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँको कारोबार देखिएको प्रहरीले जनाएको छ ।

योसँगै उनको विभिन्न खाताहरूबाट मात्रै १० करोड ९ लाख २२ हजार १८४ रुपैयाँको कारोबार भएको देखिएको छ । उनले १ वर्षदेखि सट्टेबाजीको काम गर्दै आएको खुलेको छ ।

गौलीविरुद्ध मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्नरगराउन नहुने कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.