जन सरोकार

पाल्पामा भेटियो ३०० वर्ष पुराना तोपका गोला

पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा नेपाली सेनाले बनाउन लागेको पाहुनाघर (गेस्ट हाउस)को जग खन्ने क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला भेटिएको छ ।

दुई, तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुनसक्ने अनुमान गरिएको ती गोला तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भेटिएका हुन् ।

पाल्पामा नेपाली सेनाको पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने स्थान) सञ्चालनमा रहेको थियो । उक्त गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ ।

गोला बनाउने गोलाखानासँगै हतियार बनाउने कारखाना (सिलेखाना) र बारुद बनाउने बारुदखानासमेत पाल्पामा सञ्चालनमा थियो । भीमसेन थापाको पालादेखि नै सेनाको पल्टन पाल्पामा बसेको देखिन्छ । अहिले सेनाले घडेरी खनेको स्थानमा गोलाखाना (तोपको गोला) भेटिएको हो ।

इतिहासका जानकार निर्मल श्रेष्ठले भीमसेना थापाको पालादेखि पाल्पामा हतियार बनाउन स्थान (खाना) रहेको र विसं २०१८ सम्म सोही गोलाखानाबाट सेनाको विभिन्न कार्यक्रम तथा दशैँका बेला गोला पड्काउने प्रचलन रहेको बताउनुभयो ।

तोपका गोला भेटिएको क्षेत्र राणाकालका बेलासम्म गोला बनाउने र भण्डारण गर्ने स्थल भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । उहाँले अहिले नेपाली सेनाले घडेरी खन्ने क्रममा दुई सयभन्दा बढी तोपका गोला फेला परेको जानकारी दिनुभयो ।

उक्त गोला कुन समयमा केका लागि प्रयोग भएको भन्ने बारेमा अहिल्यै भन्न नसके पनि दुई, तीन सय वर्षअघि प्रयोग भएको हतियार हुनसक्ने प्रजिअ पन्तले बताउनुभयो ।

फेला परेका गोला सङ्कलन गरिएको पाल्पास्थित नेपाली सेनाको दि फेमस महिन्द्रा दल गणले जनाएको छ । सेनाको अतिथि गृह बनाउन घडेरी खन्ने क्रममा तोपका पुराना प्रयोग हुन नमिल्ने गोला फेला परेको गणपति बालमुकुन्द विष्टले जानकारी दिनुभयो ।

फेला परेका गोला सङ्कलन गरेर राखिएको र अहिले पनि उक्त स्थानमा खन्ने क्रम जारी रहेकाले गोलाको सङ्ख्या बढ्न सक्ने विष्टले बताउनुभयो । फेला परेका गोला माथिल्लो निकायलाई सोधेर मात्र के गर्ने भन्ने निर्णय लिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.