जन सरोकार

महासङ्घको साधारणसभाबाट भावी कार्ययोजना निर्माण गरिने

नेपाल पत्रकार महासङ्घद्वारा यही पुस ८ र ९ गते सुर्खेतमा आयोजना हुने साधारणसभाबाट महासङ्घको आगामी कार्ययोजना बनाइने महासचिव रोशन पुरीले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “सुर्खेतमा सम्पन्न हुने साधारणसभाले महासङ्घको नीतिगत तथा वैधानिक अधिवेशनका रूपमा निर्णय गर्नेछ ।” महासचिवले महासङ्घको साङ्गठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकले प्रस्तुत गर्ने प्रतिवेदनमाथि बृहत् छलफल हुने उहाँले जनाउनुभयो ।

यो साधारणसभामा महासङ्घका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा)का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद् सदस्यको सहभागिता हुने उहाँले बताउनुभयो । उहाँका अनुसार साधारणसभा सम्पन्न गर्न आर्थिक दायित्व महासङ्घ केन्द्रीय समितिले लिएको छ ।

महासङ्घले अधिवेशन सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताउनुभयो । सङ्घीय सरकारले महासङ्घको अधिवेशनका लागि वार्षिक बजेट विनियोजन गर्दै आएको छ ।

कर्णाली प्रदेश सरकारले अधिवेशनकै लागि रु १५ लाख बजेट व्यवस्थापन गरेको बताउँदै उहाँले स्थानीय सरकारको समेत दायित्ववोध हुने भएकाले सुर्खेतस्थित स्थानीय तह र संस्थासँग आर्थिक सहयोगका लागि अनुरोध गरिएको जनाउनुभयो ।

राष्ट्रिय परिषद् सदस्यहरूका लागि सुर्खेतका २२ होटल व्यवस्था गरिएको महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले जानकारी दिनुभयो । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.