मानव तस्करीमा चिनीयाँहरुको संलग्नता, दुईजना पक्राउ
नेपालबाट तस्कर अर्थात् मानव वेचविखन तथा ओसारपसारमा नेपाली र भारतीयहरु बढी संलग्न हुने गरेकामा पछिल्लो समय चिनीयाँहरु पनि संलग्न रहेको पाइएको छ ।
प्रहरीले काठमाडौंको ठमेल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना चिनीयाँ नागरिकलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो ।
पक्राउ पर्नेमा ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङ रहेका छन् । प्रहरीले उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौं ठमेल र एकजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए ।
त्यहाँ पुर्याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारा चलान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्