राजनीति

कांग्रेसले सबै गुमायो, एमालेले सबै पायो, आज प्रधानमन्त्री प्रचण्डको शपथग्रहण

सत्ता गठबन्धन तोडेर एमालेसंग मिल्नुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इच्छा पूरा गर्नुभएको छ ।

सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख तथा मुख्यमन्त्रीहरु सबै गुमाउन पुगेको छ । अध्यक्ष प्रचण्डले आफूलाई पहिला सरकारको नेतृत्व नदिए गठबन्धन छाड्ने चेतावनी दिदै आउनुभएको थियो ।

तर, नेपाली कांग्रेसले अध्यक्ष प्रचण्डको चेतावनीलाई सामान्य रुपमा लियो । राजनीतिमा एकाएक आएको परिवर्तनले धेरैलाई अचम्भित तुल्याएको छ भने यसको सबभन्दा ठूलो असर नेकपा समाजवादीका अध्यष माधवकुमार नेपाललाई परेको छ ।

बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा एमाले अध्यक्ष केपी ओली भेट्न पुग्नुभएका अध्यक्ष प्रचण्डले एमालेसहित सत्ता गठबन्धन बाहिरका दलहरुको समर्थनसहित प्रधानमन्त्रीको दावी पेश गर्नुभयो ।

उहाँलाई आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । आज सोमबार उहाँले प्रधानमन्त्रीको शपथग्रहण गर्नुहुनेछ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कूल एक सय ६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

त्यसको समयसीमा आजै साँझ ५ बजे सकिएको हो । सो समयसीमा अगावै नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन पेश गर्नुभएको थियो ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज (सोमबार) अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.