राष्ट्रिय विभूति अरनिकोको मूर्ति निर्माणमा बजेट अभाव
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको मूर्ति निर्माण सुरु गरेकामा बजेट अभावका कारण रोकिएको छ । रु ५० लाख बजेट भए मूर्ति निर्माणको काम सकिने बताइएको छ ।
प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा कुलपति कान्छाकुमार कर्माचार्यले १० वर्षअघि रु ५० लाख बजेटमा निर्माण सुरु गरेको मूर्ति ७५ प्रतिशत काम सकिएर अलपत्र बनेको बताउनुभयो । रु ५० लाख बजेट भए मूर्ति निर्माणको काम सकिने उहाँले कार्यक्रममा जानकारी दिनुभयो ।
यसका लागि प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छ महिनाअघि रु ५० लाख बजेट माग गरेको थियो । माग गरिएको बजेट नपाउँदा आफ्नो कार्यकालमा मूर्ति निर्माण नसकिएको कुलपति कर्माचार्यले पत्रकार सम्मेलनमा बताउनुभयो ।
मूर्तिको ‘प्याडेस्टल’ बनाउन थप रु ५० लाख बजेट माग गरिएको पनि प्रतिष्ठानले जनाएको छ । वर्तमान पदाधिकारीको चार वर्षे कार्यकाल बिहीबार सकिँदै छ ।
प्रतिष्ठनले चार वर्षे कार्यकालमा प्रत्येक वर्ष ९४ प्रतिशतभन्दा बढी प्रगति गरेको जानकारी पनि सो अवसरमा गराइएको थियो । कोरोनाको महामारीका बाबजुद राम्रो काम भएको दाबी प्रतिष्ठानले गरेको छ । कोरोनाका कारण पनि प्रतिष्ठानको बजेट कटौतीमा परेको थियो ।
प्रतिष्ठानमा कर्मचारी पनि आवश्यकताअनुसार छैनन् । प्रतिष्ठानले चार वर्षअघि नै ४३ जना कर्मचारी हुनुपर्ने माग गरेको थियो तर हाल प्रतिष्ठानमा अस्थायी र ज्यालादारीसहित ३१ जनामात्र कार्यरत छन् । प्रतिष्ठानले मस्यौदा गरी पठाएका तीन विनियमावली पनि मन्त्रालयमै अड्किएको जनाइएको छ ।
प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार कला, संस्कृति सरकारको प्राथमिकतामा नपर्दा बजेट र जनशक्ति पाउन अप्ठ्यारो भइरहेको अनुभव सुनाउनुहुन्छ ।
राजाको शासनकालमा ललितकला क्षेत्रको विकासका लागि दिइएको जग्गा पनि लोकतान्त्रिक शासन व्यवस्थाका बेला खोसिनु दुःखद् रहेको उहाँले सुनाउनुभयो ।
प्रतिष्ठानले ललितकला क्षेत्रको विकासका लागि अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको ग्यालरी निर्माण गरिनुपर्ने माग गरेको छ । यससम्बन्धी प्रस्ताव तयार पारी विस्तृत परियोजना प्रस्ताव निर्माणको चरणमा पुगेको जानकारी सो अवसरमा गराइएको छ । यस्तो ग्यालरी निर्माणका लागि रु १३ करोड बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
ग्यालरी निर्माण भए प्रतिष्ठानका लागि दीर्घकालीन आयस्रोतको माध्यम बन्ने जनाइएको छ । सरकारले पनि सहयोग नगर्ने दाताको सहयोगका लागि पनि स्वीकृति नदिँदा ललितकला प्रतिष्ठान समस्यामा परेको सो अवसरमा जानकारी गराइयो ।
प्रतिक्रिया राख्नुहोस्