अवैध अण्डा र कुखुरा आयात रोक्न बैठक कक्षबाटै गृहमन्त्रीको फोन
नेपाल अण्डा र कुखुराको मासुमा आत्मनिर्भर भए पनि भारतबाट अवैध रुपमा खण्डा, कुखुरा र चल्ला आयातमा कडाई नहुँदा स्वदेशी व्यवसायी धरासायी हुँदै गएका छन् ।

अवैध आयातकै कारण चितवनका ३८४ ह्याचरी उद्योगमध्ये हाल २०० मात्रै सञ्चालनमा छन् । विगतमा एक हप्तामा ४५ लाखसम्म चल्ला उत्पादन हुँदै आएकोमा अहिले घटेर २५ लाखमा झरेको छ ।
त्यसमा पनि उत्पादन भएका आधा चल्ला बिक्री गर्न समस्या भएको व्यवसायीहरुले बताएका छन् । नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार ५–१० हजार कुखुरा पाल्ने ६० प्रतिशत व्यवसायीले व्यवसाय बन्द गरिसकेका छन् ।
लेयर्स चल्ला उत्पादन गर्ने देशभरिका १४ वटा ह्याचरीमध्ये दुई वटा मात्रै पूरा क्षमतामा सञ्चालनमा छन् । बाँकी १२ मध्ये कुनै बन्द भएका छन् भने कुनै उत्पादन घटाएर बसेका छन् ।
यसबीचमा गृह एवं उपप्रधानमन्त्री रवि लामिछाने मन्त्री भएपछि पहिलोपटक चितवन जानु भई अवैध कुखुरा र चल्लाको आयत रोक्न निर्देशन दिनुभएको छ ।
पोल्ट्री व्यवसायीहरुले भरतपुरमा राखेको छलफल कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा निकायहरुलाई अवैध कुखुरा, चल्ला र मासु आयत रोक्न निर्देशन दिनुभएको हो ।
गृहमन्त्री लामिछानेले सोही स्थानबाट सबैले सुन्ने गरी नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोनमार्फत त्यस्तो आयात रोक्न निर्देशन दिनुभएको हो ।
पछिल्लो समय भारतबाट विभिन्न नाका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा सङ्कट उत्पन्न भएपछि ध्यान दिन व्यवसायीहरुले गृहमन्त्रीलाई अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल पोल्टी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुल राष्ट्रिय आयमा चार प्रतिशतभन्दा बढी योगदान रहेको आत्मनिर्भर व्यवसाय केही समय यता धराशायी हुने अवस्थामा पुगेकाले अवैध आयत रोक्न गृहमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।
अध्यक्ष विष्टले भारतीय मासु तथा चल्लाहरू निर्वाध भित्रिएको, दानाको कच्चा पदार्थको मूल्यवृद्धि भएको, बैंकको ब्याजदर बढेको र लागत अनुसारको मूल्य पाउन नसकेका कारण साना लगानीका व्यवसायी पलायन भइसकेको र ठूला व्यवसायी पलायनको नजिक पुगेको जानकारी गराउनुभएको थियो ।
नेपालमा भन्दा भारतमा उत्पादन लागत कम हुने भएकाले भारतमा कुखुराको चल्ला, मासु र अण्डा सस्तो पर्छ । त्यसैले सीमावर्ती क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य वस्तुहरू नेपाल भित्रिने गरेको छ
चिन्ताजनक कुरा त के छ भने भारतमा बिक्री गर्न नमिल्ने गरी बुढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य पाएको छैन । ब्रोइलर कुखुरा २८ देखि ३५ दिनभित्रको खान उपयुक्त हुन्छ । तर बजारमा बुढा कुखुराको रेसा भएको मासु आउने गरेको छ।
अहिलेकै अवस्था कायम रहेमा र सरकारले कुनै सहयोग नगरेमा २०८० सालसम्म नेपालका धेरैजसो पोल्ट्री व्यवसाय बन्द हुने व्यवसायीहरु बताउँछन् ।
प्रतिक्रिया राख्नुहोस्