जापानमा प्रेमिकाको हत्या गरेको आरोपमा प्रेमी पक्राउ
प्रेमिकाको हत्या गरेको आरोपमा टोकियो प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । २० वर्षीय प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले एक २१ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको हो ।

क्योडो न्यूजको रिपोर्ट अनुसार हिरोतो काजिकावा नाम गरेका युवकले स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः२० ओटा वार्डको प्रहरी चौकी पुगेर उनले आफ्नो अपार्टमेन्टमा कसैलाई मारेको बताएका थिए ।
त्यसपछि घटनाको विषयमा जानकारी लिन अपार्टमेन्ट पुगेका प्रहरीले छातीमा चक्कु प्रहार गरेको अवस्थामा युवतीको शव फेला पारेको थियो । त्यस्तै प्रहरीले उनलाई घटनास्थलमै मृत घोषित गरेको थियो ।
प्रहरीले युवतीको शवको छेउमा भुइँमा रगतले लतपतिएको चक्कु फेला पारेको थियो । प्रेमिकाले सम्बन्ध अन्त्य गर्न चाहेको बताएपछि प्रेमीले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीले काजिकावालाई उद्धृत गर्दै बताएको छ । प्रहरीले प्रेमी र प्रेमिकासँगै बस्दै आएको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्