इञ्जा अवार्डका लागि आवेदन आव्हान
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले सन् २०२३ को विभिन्न शीर्षकमा दिइने इञ्जा पत्रकारिता अवार्डका लागि आवेदनहरु माग गरेको छ ।

अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जाले हरेक वर्ष १र१ लाख रुपिंया राशीको खोजी पत्रकारिता पुरस्कार, सामुदायिक पत्रकारिता पुरस्कार र विद्वत पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
इञ्जा मुख्यालयका सचिव दीपक रिजालका अनुसार इञ्जा खोजी पत्रकारिता पुरस्कार र इञ्जा सामुदायिक पुरस्कारका लागि सन् २०२२ भर प्रकाशित वा प्रसारित आफ्नो समाचार, आलेखको एक प्रति समेत संलग्न गरी फेव्रुअरी १ सम्ममा innja.award@gmail.com मा पठाइदिन आग्रह गरिएको छ ।
त्यस्तै लामो समयसम्म विश्व वैंकमा कार्य गरेका विद्वान डा. शुकदेव साहको परिवारद्वारा प्रायोजन गरिने इञ्जा विद्वत पत्रकारिता पुरस्कार पत्रकारितामा एमफिल वा पिएचडी गर्दै गरेका विद्यार्थीहरुलाई प्रदान गरिने र यसको छनोट त्रिवि पत्रकारिता तथा आमसञ्चार विभागद्वारा गठन हुने समिति मार्फत हुने व्यवस्था छ ।
इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि आफैंले आवेदन गर्न वा अरुले सिफारिस समेत गर्नसक्ने व्यवस्था गरिएको छ ।
इञ्जाले खोजी पत्रकारिता पुरस्कार छनोटका लागि नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा नेपाल समाचारपत्र दैनिकका समाचार सम्पादक दीपक रिजाल र राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपाने रहेको समिति गठन गरेको छ ।
त्यस्तै इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि जनता टेलिभिजनका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार टंक पन्तको संयोजकत्वमा पत्रकारद्वय दीपेन्द्र दोङ र दीपु पोखरेल रहेको समिति गठन गरेको छ ।
इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले विभागीय प्रमुख प्रा. चिरञ्जिवी खनालको संयोजकत्वमा सोही विभागका उपप्राध्यापकहरु घमराज लुइटेल र देवराज अर्याल रहेको समिति गठन गरेको छ ।
फेव्रुअरी १ सम्ममा प्राप्त आवेदनहरुहरुमाथि छानवीन गरी तोकिएका समितिहरुले फेव्रृअरी १५ मा पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गर्नेछन् भने मार्च १ मा आयोजना हुने इञ्जा वार्षिकोत्सवको उपलक्ष्यमा ती पुरस्कार वितरण गरिने छ ।
इञ्जा खोजी पत्रकारिता पुरस्कारवाट अहिलेसम्ममा पत्रकारहरु अजयवावु सिवाकोटी, टपेन्द्र कार्की, सुशिल पन्त र गजेन्द्र वुढाथोकी पुरस्कृत भइसकेका छन् भने इञ्जा ग्रामीण पत्रकारिता पुरस्कारवाट पत्रकारहरु मेनुका ढुंगाना, प्रकाश सिंह र संस्थागत तर्फ रेडियो मेलम्ची एफ र दीपा कर्ण एवं सरोज ढुंगाना पुरस्कृत भएका छन् ।
इञ्जा विद्वत पत्रकारिता पुरस्कारवाट यसअघि वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिवि पत्रकारिता विभागका उपप्राध्यापक देवराज अर्याल पुरस्कृत भइसेका छन् ।
प्रतिक्रिया राख्नुहोस्