जन सरोकार

राजधानीमा स्वदेशीदेखि विदेशी ब्राण्डका महंगा रक्सीको नक्कली धन्दा

काठमाडौं उपत्यकामा नाम र बजारमा चलेका स्वदेशी तथा विदेशी ब्राण्डका महंगा रक्सी उत्पादन गरी बजारमा पठाउने गिरोह सक्रिय रहेको पाइएको छ ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले ललितपुरमा नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोह नै फेला पारेको हो ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार लामो अनुसन्धानबाट नक्कली मदिरा उत्पादन र कालोबजारी गर्ने समूहमा संलग्न गिरोह फेला परेको हो।

टोलीले माघ १३ गते कुपण्डोलमा निरज उप्रेतीले सञ्चालन गरेको नेक्स टेस्ट लिक्वयर स्टोरमा खानतलासी गरेपछि नक्कली खुकुरी रम फेला परेको हो । अनुसन्धान गर्दै जाँदा प्रहरीले यसमा संलग्न अन्य गिरोह फेला पारेको हो।

अपराध अनुसन्धानको विशेष टोलीले माघ १४ गते शनिबार ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथलीका विभिन्न स्थानमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिराको नाम लिएर नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, रक्सीका खाली बोतल, राजस्व अन्त शुल्कको स्टिकर तथा लेवलिङ एवम् प्याकेजिङ गर्ने मेसिन बरामद गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीले काठमाडौं मित्रनगरमा धर्मी गौडेलेले सञ्चालन गरेको एसटी लिक्वायर स्टोरमा खानतलासी गरेर गुणस्तरहीन खुकुरी रम, रुस्लान भोड्का ब्राण्डका मदिरासमेत बेचबिखनमा राखेको खुलासा गरेको छ।

नक्कली मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न स्टोरका सञ्चालक धर्मी गौडेलसहित निरज उप्रेती र गणेश बहादुर रानामगरलाई पक्राउ गरेर विशेष अनुसन्धान टोलीले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ।

प्रहरीले उनीहरूको साथबाट ठूलो परिणाममा स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा र खाली बोतल बरामद गरेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

प्रहरीले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एपल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान् भोड्का १३२ बोतल बरामद गरेको जानकारी गराएको छ ।

त्यसै गरी प्रहरीले नक्कली मदिरा प्रयोग गर्न राखिएका स्वदेश तथा विदेशी ब्राण्डका खाली बोतलसमेत ठूलो परिणाममा बरामद गरेको छ भने नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, कच्चा पदार्थ र उपकरण बरामद प्रहरीले बरामद गरेको छ ।

खुकुरी रमका ३९३, डबल ब्लयाकका १५, रेड लेबलका ५ थान, ज्याक ड्यानियल ६५ थान, सिग्नेचर ग्रिन ६७ थान, रुस्लान ५८ थान, सिग्नेचर रेड ३५ थान, गोल्डेन ओके ३३२ थान, वल्ड दरबार २३ थान, ८८४८ भोड्का ६ थान र आइकनिक भोड्काका ६० थान बोतल बरामद गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.