जापानमा चोरी र डकैतीमा संलग्न चारलाई सुपुर्दगी गर्न फिलिपिन्स सकारात्मक
जापानमा भएको चोरीका घटनामा संलग्न चारलाई सुपुर्दगी गर्न फिलिपिन्स सकारात्मक रहेको त्यहाँका न्याय मन्त्रीले बताउनुभएको छ ।
सोमबार फिलिपिन्सस्थित जापानी दूतावासले चार जापानी नागरिकको सुपुर्दगीका लागि न्याय मन्त्रालयलाई औपचारिक अनुरोध गरेको थियो । न्याय मन्त्री जीसस क्रिस्पिन रेमुला मंगलबार पत्रकारहरुलाई दुईजना संदिग्ध पुरुषलाई एक हप्तामा जापानलाई सुम्पन सकिने जानकारी दिनुभयो ।
उहाँले राष्ट्रपति फर्डिनान्डो मार्कोस जुनियरको जापान भ्रमणअघि यो समस्या समाधान हुने बताए । मार्कोस जुनियरले फेब्रुअरीको पहिलो हप्ता जापान भ्रमणमा जाँदै हुनुहुन्छ ।
आरोपित चार जनालाई फिलिपिन्सको अध्यागमन केन्द्रमा राखिएको छ । सन् २०१९ को घोटाला र अन्य अपराधमा संलग्न रहेको आरोपमा जापानी प्रहरीले पक्राउ पुर्जी प्राप्त गरेको छ । तिनीहरूमध्ये कम्तिमा एकजना भर्खरै जापानमा भएको डकैतीमा संलग्न भएको आशंका गरिएको छ ।
तर, चारजनामध्ये वातानाबे युकीको सुपुर्दगी तत्कालका लागि सम्भव नहुने देखिन्छ । युकीले फिलिपिन्समा भएको हिंसात्मक घटनामा पनि संलग्न रहेको अभियोग लागेको छ ।
त्यस्तै मन्त्री रेमुलाले सोमबार केही अभियुक्तले आफैंविरुद्ध मुद्दा दर्ता गरी सुपुर्दगीबाट जोगिन खोजेको बताउँदै आफ्नो मन्त्रालयले यस्ता मुद्दा खारेज गर्न उपयुक्त देखेमा छिट्टै खारेज गर्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्