जन सरोकार

सुनसान छ गुप्तेश्वर महादेव स्थान

मनोकाङ्क्षा पूरा हुने विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेव स्थान अहिले सुनसान छ । गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी पहाडका दर्शनार्थीले विश्वास गर्ने गर्दछन् । तर प्रचारको अभावमा गुप्तेश्वर महादेव स्थान पुग्ने दर्शनार्थीको सङ्ख्या निकै हुने गरेको छ ।

गुप्तेश्वर महादेव

पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर महादेव स्थानमा गुफाभित्र गोरुको स्वरूपका महादेव रहनुभएको विश्वास गरिन्छ । निरन्तर पानी बगिरहने यो गुफाभित्र विभिन्न देवाकृतिहरू देख्न सकिन्छ । महादेव गुफाभित्र रहेको विश्वासका कारण यस स्थानलाई गुप्तेश्वर महादेव स्थान भन्ने गरिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पर्ने याङवरक–३ को ओयाम बजारबाट उक्त स्थानमा पुग्न सकिन्छ । गुप्तेश्वर महादेव स्थान नजिकै इङ्वाखोला जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण भइरहेका कारण सडकबाट बाह्रै महिना महादेव स्थानमा पुग्न सकिने स्थानीयवासी मचिन्द्र सेलिङले बताउनुभयो ।

गुप्तेश्वरको महिमा
ओयामका ९० वर्षीय लालबहादुर न्यौपानेका अनुसार साक्षात महादेवको दर्शन गुप्तेश्वर महादेव स्थानमा आएर गर्न सकिन्छ । यहाँ गाउँघरमा रहेको जनश्रुतिअनुसार गाई वस्तुले प्रत्येक दिन बाली खाइदिने भएपछि किसानहरूले केले बाली खायो भनेर खोजी गरेका थिए । एक दिन लुकेर ढुक्ने क्रममा एउटा कैलो गोरुले धान खान थाल्यो । किसानहरूले गोरुलाई लखेटे । गोरु अल्लोघारी रहेको घना जङ्गलतर्फ लाग्यो ।

भाग्ने क्रममा गोरु ढुङ्गामाथि चढेर हिँडेपछि देख्नेहरु आश्चर्यमा परे । अहिले गुप्तेश्वर महादेव स्थान भएका ठाउँमा ‘गाईखुरे’ नामका ढुङ्गा छन् । गोरु हिँडेका पाइला भएका स्थानलाई नै गाईखुरे ढुङ्गा भनिएको किंवदन्ती रहेको छ । गोरु घुमेर अहिले महादेव स्थान रहेको स्थानबाट हरायो । गाउँघरका मानिसहरू भेला भएर खोज्दै जाँदा त्यहाँ महादेव स्थान रहेको पत्ता लाग्यो । गोरु छिरेको गुफाभित्र मूर्ति, देवाकृतिहरू र पानीको धारा भेटिएपछि यहाँ महादेव स्थान रहेको निष्कर्ष निकालिएको न्यौपानेको भनाइ छ ।

उक्त स्थानमा विसं १९६५ सालतिर मन्दिर निर्माण भएको स्थानीयवासी बताउँछन् । सो समयमा उक्त क्षेत्रका अगुवा महासेठ बालन्द सुब्बाले मन्दिरको उत्थानमा ठूलो योगदान दिएको र मन्दिरमा धेरै घण्टहरू दान गरेको आफूहरूले पितापुर्खाबाट सुनेको वयोवृद्ध न्यौपानेको भनाइ छ । उक्त स्थानमा इन्द्रावती मेला लाग्ने गरेको थियो भने बालाचतुर्दशीका दिन सद्बिज छर्नेको घुइँचो हुन्थ्यो । महासेठ सुब्बाले दान गरेका ठूलाठूला घण्टहरू भने हराएका छन् ।

यहाँ निर्माण भएको मन्दिर पनि निकै आकर्षक र पृथक छ । कालो दाल पिसेर भिजाई सिमेन्टका रूपमा प्रयोग गरिएका कारण मन्दिरको संरचना दर्विलो रहेको स्थानीयवासी बताउँछन् । यस स्थानका ढुङ्गा पनि अन्यत्रका भन्दा फरक छन् । यस स्थानमा नयाँ मन्दिर निर्माण गर्ने कुराकानी चले पनि कालीगडले पुरानो मन्दिर भत्काउन नमानेपछि पुरानै मन्दिर कायम राखिएको छ । भगवान्को शक्ति रहेकै कारण यहाँ रहेका ठूलाठूला रूख लड्दा मन्दिर जोगाएर आफैँ ढल्ने गरेको वयोवृद्ध न्यौपानेको भनाइ छ ।

गुफाभित्र ढुङ्गाको दियो रहेको छ । यहाँ निरन्तर पानी झरिरहन्छ । भगवान् शिवको मूर्तिमा पानीका थोपा झर्ने गरेको देख्न सकिन्छ । गुफा डरलाग्दो रहेका कारण एक्लै जाँदा कठिन पर्ने गुप्तेश्वर महादेव स्थान संरक्षण समितिका उपाध्यक्ष सीताराम न्यौपानेको भनाइ छ । “यहाँको दृश्य हेर्दा भगवान् साक्षात रहेको अनुभूत गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “तर गुफाभित्र छिरेर दर्शन गर्न एक्लैलाई भने डर लाग्छ ।” गुफा करिब १५ मिटर लामो छ । कतिपयले यस स्थानमा नाग पनि भेटेका छन् भने कतिपयले बेलुकीको समयमा गाई हिँड्डुल गरेको आवाज सुन्ने गरेका छन् ।

पूर्वाधार र प्रचारको आवश्यकता
ओयामका रुपबहादुर न्यौपाने गुप्तेश्वर महादेव स्थानको अत्यधिक ठूलो महत्त्व रहेको बताउनुहुन्छ । “यो मन्दिरमा जसले दुःख परेर केही चिताएर आउँछ, उसको इच्छा पूरा हुने गरेको छ । हामीले छोराछोरी नभएका, रोग विराम लागेका कैयौँ भक्तजनहरू समस्या समाधान भएको भनेर पुनः दर्शनका लागि आएको पाएका छौँ”, न्यौपानेले भन्नुभयो, “यस स्थानको विशिष्ट धार्मिक महत्त्व रहेकै कारण पहिल्यैदेखि चर्चित बनेर रहेको छ ।”

गुप्तेश्वर महादेव स्थान संरक्षण समितिका उपाध्यक्ष सीताराम न्यौपाने उक्त स्थानलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न देश विदेशमा प्रचार–प्रसार गर्नुपर्ने बताउनुहुन्छ । “विगतमा अष्टादश पुराण लगाइएको थियो । हामी पनि मन्दिरको संरक्षणमा निरन्तर सक्रिय छौँ”, उहाँले भन्नुभयो, “ओयामबाटै याङवरक गाउँपालिका अध्यक्ष र नयाँ वडाध्यक्ष निर्वाचित भएपछि यस स्थानको विकासमा सबैको सक्रियता बढेको छ ।”

विगतका केही वर्ष निष्क्रिय भई हाल सक्रिय बनेको संरक्षण समितिको खातामा रु तीन लाख बचत रहेको उहाँले बताउनुभयो । प्रचार–प्रसार र पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने उहाँको माग छ । अहिले पनि मन्दिरको शिरमा चरीबाघ बस्ने गरेको स्थानीयवासी बताउँछन् । यद्यपि उक्त बाघले अहिलेसम्म कसैलाई आक्रमण नगरेको उनीहरूको भनाइ छ ।

याङवरक–३ का वडाध्यक्ष विमल राईका अनुसार गुप्तेश्वर महादेव स्थानको विकास र प्रचार–प्रसारका लागि पुरानो समितिलाई पुनर्गठन गरी सक्रिय बनाइएको छ ।

यस्तै गाउँपालिकाले उक्त स्थानको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी सोही आधारमा काम गर्न लागेको छ । “साक्षात भगवान्को दर्शन पाइने विश्वास गरिने यस स्थललाई पर्यटकको आकर्षणको स्थान बनाउन हामी लागिपरेका छौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “अब समिति पनि सक्रिय भएको छ । धार्मिक गतिविधिहरू तथा प्रचार–प्रसारलाई बढावा दिन्छौँ ।” आफ्नो अध्ययनबाट गुप्तेश्वर महादेव स्थान पूर्वकै एक विशिष्ट धार्मिकस्थल रहेको भए पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको वडाध्यक्ष राईको बुझाइ छ ।

सोही वडाका बासिन्दा रहनुभएका याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) गुप्तेश्वर महादेवको महिमालाई संसारभर प्रचार–प्रसार गरेर धार्मिक पर्यटक भित्र्याउने आफ्नो योजना रहेको बताउनुहुन्छ । “पाथीभरा आउने सबै दर्शनार्थीलाई यस स्थानसम्म ल्याउने व्यवस्था गर्नेतर्फ हाम्रो ध्यान गएको छ”, उहाँले भन्नुभयो, “यस स्थानको प्रचार–प्रसार र संवर्द्धनमा हामी लाग्नेछौँ ।” गुप्तेश्वर महादेव स्थानमा शताब्दीअघि नै मेला लाग्ने, धार्मिक अनुष्ठान हुने गरेको दृष्टान्तले पनि उक्त स्थान महत्त्वपूर्ण धार्मिक क्षेत्र रहेकामा कुनै शङ्का नरहेको गाउँपालिका अध्यक्ष योङ्याको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.