खेलफूटबल

खोटाङलाई हराउँदै रुपन्देही भोजपुर गोल्डकपको सेमिफाइनलमा

भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आइतबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा ‘टाइब्रेकर’ मा रुपन्देहीले खोटाङको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

भोजपुर गोल्डकप

गोर्खा ब्वाइज रुपन्देहीले भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै गत वर्षको पाँचौँ भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको निर्धारित खेलमा गत वर्षको विजेता गोर्खा ब्वाइज रुपन्देही र भगवती स्पोर्ट्स क्लब खोटाङ दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा खेलाइएको थियो । खेल बराबरी भएपछि समय थप नगरी खेलाइएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीका तर्फबाट निशान न्यौपाने, विकास थुलुङ, सन्तोष, टम्पी र फोफनाले पाँच गोल गरेका थिए ।

यता भगवती स्पोर्ट्स क्लब खोटाङका तर्फबाट भने अबदुल्ला, सविन राई, एलेक्स र शरद राईले चार गोल मात्र गरेका थिए ।

प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ रुपन्देहीका शाहिल्द भएका छन् । सोमबार हुने अन्तिम क्वार्टरफाइनल खेल एभिनिर क्यामरुन र बसाहा युथ क्लब उदयपुरका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

शुक्रबार भएको पहिलो खेलमा एनबिवाइसी सप्तरीलाई ४–२ ले पराजित गर्दै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ सेमिफाइनल प्रवेश गरेको छ भने शनिबारको तेस्रो खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइलको यात्रामा पुगेको हो ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुरको सहभागिता रहेको खेल संयोजक आङपासाङ शेर्पाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद पाँच लाख र उपविजेताले तीन लाख पाउनेछन् भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ ।

चैत १० देखि सुरु प्रतियोगितामा १० देखि १३ गतेसम्म क्वार्टरफाइनल, १४ र १५ गते सेमिफाइनल तथा १६ गते फाइनल खेल सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.