भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) मा लखनउ सुपर जायन्ट्सले सुखद् सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।
लखनउको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । लखनउका लागि ओपनर कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले भने निकोलस पुरनले ३६ रन बनाए । त्यस्तै आयुष बदोनी १८ रन बनाई आउट भए भने दिपक हुडाले १७ रन जोड्दा कुर्नाल पाण्ड्या १५ रनमा अविजित रहे । दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले समान २-२ विकेट लिए भने अक्षर पटेल र कुलदिप यादवको भागमा समान १-१ विकेट रह्यो ।
१९४ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान डेभिड वार्नरले ५६ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै राईली रउसोले ३० र पृथ्वी शाले १२ रन जोडे ।
लखनउका लागि मार्क उडले ५ विकेट लिए भने आवेस खान र रवि बिष्नोईको भागमा समान २-२ विकेट रह्यो । जितसँगै लखनउ २ अंक जोड्दै शीर्ष स्थानमा छ भने अंकबिहिन दिल्ली छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा पौने चार बजे सनराइजर्स हैदरावाद र राज्स्तान रोयल्स भिड्दै छन् भने पौने आठ बजे हुने दोस्रो खेलमा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर आमने सामने हुने छन् ।
प्रतिक्रिया राख्नुहोस्