राजनीति

दलहरुबीच सहकार्य र हार्दिकता आवश्यक : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताउनुभएको छ । गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन सोमबार चितवन आउनुभएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरू बीच द्वन्द्व हुन नहुने बताउनुभयो ।

महामन्त्री विश्वप्रकाश शर्मा

देशभित्र अवसरको खोजी गरिरहेका नागरिकलाई सोको सिर्जना गर्नका लागि बदलिएको राजनीतिको विषय बन्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आज दलहरू बीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो ।” आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाइ भएको उहाँले बताउनुभयो । राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको उहाँको जिकिर थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीभित्र असन्तुष्टि राख्नेलाई घर फर्कन आग्रह गर्नुभयो । पार्टीभित्रका असन्तुष्टिलाई समाधान गर्नका लागि आन्तरिक छलफल गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घर छोडेर गएका आफ्नै घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु”, उहाँले थप्नुभयो, “हामीले उता पर्म लाएको हो । अब फर्कन्छौँ भन्ने कार्यकर्ता पनि पाएको छु ।” घरघरमा बसेर सोच्न र बिउँझनका लागि कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो ।

वैशाख १० गते चितवन–२ को परिणाम बदलिने महामन्त्री शर्माको भनाइ थियो । उहाँले भन्नुभयो, “यो पटक वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजारभन्दा बढी मानिसले उता पर्म लाएका थियौँ । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ ।”

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीभित्रको आन्तरिक कलहलाई आम निर्वाचनमा साँध्न नहुने बताउनुभयो । कांग्रेस बलियो भए लोकतन्त्र बलियो हुने भन्दै उहाँले उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारले जित निकाल्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुर ढकाल, गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्ण न्यौपानेलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.