अर्थ

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्र ढकाल, यस्तो छ प्राथमिकता

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षका रुपमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष हुनुभएको छ । ढकालले आइतबार टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।

बिहिबार सम्पन्न महासङ्घको साधारणसभाले वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारीहरुको चयन गरेसंगै विधानअनुसार वरिष्ठ उपाध्यक्ष अध्यक्षमा चयन हुनुभएको हो ।

नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकालमा वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने लगायत पाँच काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महासङ्घका नवनिर्वाचित नेतृत्वले पदवहाली गर्ने कार्यक्रममा उहाँले राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उहाँले गाँउबाट आएको सानो व्यवसायी पनि महासङ्घको नेतृत्वमा आउन सक्दो रहेछ भन्ने कुराको उदाहरण आफू स्वयम् भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महासङ्घमा साना व्यवसायीहरुको प्रतिनिधित्व हुँदैन कि भन्ने साथीहरुलाई चिन्ता छ । म आफैँ पनि सानो व्यवसाय गरेर महासङ्घको नेतृत्वमा आएको छु ।

साना व्यवसायी र सबै खालका व्यवसायीको प्रतिनिधित्व हुन्छ । मैले पाँच बुँदे प्रतिबद्धता पनि घोषणा गरेको छु । सरकारले पनि ती काम गर्न सहयोग गर्ने विश्वास लिएको छु ।”

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गर्नुभएका पाँच प्रतिबद्धतामा आफ्नो साथ रहेको बताउनुभयो ।

महासङ्घमा दुई कार्यकाल सदस्य रहनुभएका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

महासङ्घको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित हुनुभएको थियो ।

निर्वाचनबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित हुनुभएको छ भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.