सडक र गाउँबस्तीमै जङ्गली जनावर : मानिसलाई समेत खतरा
गत मङ्गलबार साँझ बेनी–बागलुङ सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किएर एउटा वयस्क चितुवा मर्यो ।गत माघमा पनि सोही सडकखण्डको खबरा क्षेत्रमा बागलुङबाट मोटरसाइकलमा बेनी आउँदै गरेका हरि घिमिरेलाई चितुवाले झन्डै झम्टेको थियो । डरका कारण मोटरसाइकललाई सन्तुलनमा लिन नसक्दा घिमिरे लडेर घाइते हुनुभयो ।
उता बेनी नगरपालिका–३ को तोराखेतमा चितुवाले गत फागुनमा चारवटा बाख्रा मा¥यो । म्याग्दीमा विगत दुई वर्षयता जङ्गली जनावरको आतङ्क बढ्दै गएपछि पशुचौपायालाई मात्रै होइन मानिसलाई समेत खतरा उत्पन्न भएको छ ।
वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् भने सडक छेउछाउमा समेत चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । जङ्गल नजिकका गाउँमा चितुवा, बँदेल, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको हो । पछिल्लो सयम चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषकले मार खेप्नुपरेको छ ।
त्यस्तै, बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको छ । हुलका हुल आउने बँदेलले एक रातमा नै ठूलो क्षेत्रको आलु खेती बर्बाद गरेको मालिका गाउँपालिका–५ का जगबहादुर बुढाले बताउनुभयो । “बाँदर र बँदेलले खेती बाली नष्ट गर्ने क्रम पुरानै भए पनि यो पटक धेरै क्षति पुर्याइरहेको छ,” उहाँले भन्नुभयो, “अझ चितुवाले बाख्रासमेत मार्ने क्रम बढ्दा धेरै कृषकले नोक्सानी व्यहोर्नुपरेको छ ।”
बेनी–३ लहरेनीका सन्तबहादुर चर्मकारले गाउँमा यो वर्ष सुरु भएपछि मात्र तीनवटा बाख्रा, भैंसीको एउटा पाडो र कुखुरा जङ्गली जनावरले खाइदिएको बताउनुभयो । “राति कति बेला खोरमै आएर लैजान्छ पत्तो नै हुँदैन”, उहाँले भन्नुभयो । यो गाउँका हरेकजसो घरका बाख्रा चितुवाले मारेको छ ।
“जङ्गल क्षेत्रमा आहारा कम पाएकाले पनि हुन सक्छ जङ्गली जनावरको बिगबिगी बढेको छ”, डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले भन्नुभयो । म्याग्दीमा जङ्गल आसपासका क्षेत्रमा बस्ती विस्तार हुँदा चितुवाको बासस्थान सुरक्षित नहुनु, चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु, चितुवाको प्राकृतिक आनीबानीमा परिवर्तन जस्ता कारणले चितुवा आक्रामक बन्दै गएको रानाभाटले जानकारी दिनुभयो ।
प्रमुख रानाभाटले वनजङ्गलमा लागेको डढेलोका कारणसमेत अहिले बासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने बताउनुभयो । म्याग्दीमा चितुवाको सङ्ख्या बढेकाले आहाराको खोजीमा चितुवा मानव बस्ती र सडक छेउछाउमा देखिन थालेको पाइएको स्थानीयवासीले बताएका छन् । ग्रामीण क्षेत्रमा लगाइएको हिउँदे र बर्खे बाली जङ्गली जनावरहरूबाट जोगाउन स्थानीयवासी रातभर जाग्राम बस्न थालेका छन् । जङ्गली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भएपछि कृषकलाई सास्ती भएको कृषकहरू बताउँछन् ।
आलु, गहुँ, मकैजस्ता बाली जङ्गली जनावरले नोक्सानी गर्दा ग्रामीण क्षेत्रका किसानको खानेकुरा जोहो गर्न नै कठिन हुने गरेको छ । चितुवा, भालुजस्ता वन्यजन्तुले गर्दा एक्लैदुक्लै हिँड्नै कठिन हुने गरेको खबराका राजाराम शर्मा सापकोटाले बताउनुभयो । स्थानीयवासीले वन्यजन्तु नियन्त्रणका लागि सरकारको साथ खोजेका छन् । जङ्गली जनावरले अन्न बाली, तरकारी र फलफूल पशुचौपाया मात्र होइन, मानव बस्तीमा पसेर घरगोठमा समेत क्षति पुर्याउन थालेको स्थानीयवासीले बताएका छन् । पहिरो र जङ्गली जनावरकै कारण बसाइँ सर्नेसम्मको अवस्था आएको तोराखेतका ६२ वर्षीय डिल सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्