भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा गुजरात टाईटन्सले पाँचौं जित निकालेको छ । मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गर्दै गुजरातले प्रतियोगितामा पाँचौं जित निकालेको हो ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रन बनायो । गुजरातका लागि ओपनर शुभमन गिलले ५६ रनको अर्धशतकीय पारी खेले भने डेभिड मिलरले ४६ रन बनाए ।
त्यस्तै अनुभब मनोहरले ४२ रन जोडे भने राहुल तिवतिया २० रनमा अविजित रहे । मुम्बईका लागि पियुष चावलाले २ विकेट लिए भने राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येको भागमा समान १-१ विकेट रह्यो ।
गुजरातले दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्र बनायो । मुम्बईका लागि निहाल वाधिराले ४० रन बनाए भने क्यामरुन ग्रीनले ३३ रन जोडे । त्यस्तै सुर्यकुमार यादवले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २३ रन बनाई आउट भए भने पीयुष चावलाले १८ र इशान किशनले १३ रन बनाए ।
गुजरातका लागि नूर अहमदले ३ विकेट लिए भने मोहित शर्मा र राशिद खानले समान २-२ लिँदा हार्दिक पान्ड्याको भागमा १ विकेट रह्यो । जितसँगै गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ६ अंक जोडेको मुम्बई अंक तालिकाको सातौं स्थानमा कायमै रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्