स्वतन्त्र सांसद अमरेश कुमारले संसदमै लुगा खोलेपछि…
प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सोमबारको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै लुगा फुकालेर (अर्धनग्न भएर) विरोध जनाउनुभएको छ ।
सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताउनुभएको थियो । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाउनुभयो ।
सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गर्नुभएको थियो । तर सभामुख घिमिरेले उहाँलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भन्नुभएको थियो । तर सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाउनुभएको हो ।
सांसद सिंहले संसद्को मर्यादाविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटकपटक चेतावनी दिनुभएपछि सांसद सिंह आफ्नो स्थानमा बस्नुभएको थियो ।
आफ्नो यस्तो कदमलाई लिएर सिंहले आफूले पटक्पटक सभामुखसँग समय मागेको तर आफूलाई सभामुखले बोल्न नदिएपछि बाध्य भएर अर्धवस्त्र भएको बताउनुभयो ।
उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षले दबाब दिएर बयान परिवर्तन गरेको विषयमा आफूले बोल्न खोजेको तर आवाज उठाउन नदिएपछि अर्धवस्त्र भएको बताउनुभयो ।
सांसद सिंहले अर्धवस्त्र भएर विरोधको परकाष्ठा देखाएकोमा आफूलाई पछुतो नरहेको र अर्धवस्त्र भएको कारण जस्तोसुकै सजाय दिए पनि आफू भोग्न तयार रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्