कला/मनोरन्जनकलिउड

बल्लभ र श्रेष्ठलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’

‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ ।

यस्तै रु २५ हजार राशिको ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान’ युवा तबलावादक भिपी सिंहलाई प्रदान गरिएको छ । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा गरिएको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ ग्रहणपछि सङ्गीतकार वल्लभले अन्य पुरस्कार तथा सम्मानको तुलनामा यो आफ्नो लागि विशेष रहेको बताउनुभयो ।

“मलाई सबैभन्दा मन पर्ने गायकको हातबाट उहाँकै नामको सम्मान ग्रहण गर्दा मेरो लागि यो ऐतिहासिक छ । उहाँसँग सङ्गीत यात्रा र रेडियो नेपालको धेरै प्रसङ्ग जोडिएका छन्”, उहाँले भन्नुभयो ।

गायक श्रेष्ठले नेपाली साङ्गीतिक क्षेत्रमा गायक आचार्यको अतुलनीय योगदान रहेको बताउनुभयो । “उहाँको उपस्थिति हाम्रो लागि कति महत्वपूर्ण छ भन्ने शब्दमा बयान गर्न सक्दिन । यो सम्मान मेरो लागि ऊर्जा हो”, उहाँले भन्नुभयो । समारोहमा गायक आचार्यका पुत्रद्वय गायक सत्यराज आचार्य र स्वरुपराज आचार्य तथा सुरज थापाले सम्मानित व्यक्तित्वका कालजयी गीत प्रस्तुत गरेका थिए । उनीहरुले आचार्यले गाउनुभएका केही लोकप्रिय गीतसमेत प्रस्तुत गरेका थिए । समारोहमा साङ्गीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.