भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सातौं जित निकालेको छ । बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गर्दै चेन्नाईले प्रतियोगितामा सातौं जित निकालेको हो ।
चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । चेन्नाईका लागि शिभम दुवेले २५ रन बनाए भने ऋतुराज गायकवाडले २४ रन जोडे ।
त्यस्तै अम्बादी राइडुले २३ रन बनाउँदा अजिक्या रहाणे र रविन्द्र जडेजाले समान २१-२१ र कप्तान महेद्रसिंह धोनीले २० रन जोडे । दिल्लीका लागि मिचेल मार्शले ३ विकेट लिए भने अक्षर पटेलको भागमा २ विकेट रह्यो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन मात्र बनायो ।
दिल्लीका लागि रिलि रोउसोले ३५ रन बनाउँदा मनिश पान्डेले २७ रन बनाए । यस्तै अक्षर पटेलले २१ र फिलिप साल्टले १७ रन जोडे । चेन्नाईका लागि मथिशा पथिरानाले ३ विकेट लिए भने दीपक चहरको भागमा २ विकेट रह्यो ।
जितसँगै चेन्नाई १२ खेलमा ७ जित र ४ हारसँगै १५ अंक जोड्दै दोस्रो स्थानमा छ भने ११ खेलमा ४ जित र ७ हारका साथ ८ अंक जोडेको दिल्ली तालिकाको पुछारमा कायमै छ ।
प्रतिक्रिया राख्नुहोस्