भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) मा पन्जाब किंग्सले छैटौं जित निकालेको छ । शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गर्दै पन्जाबले प्रतियोगितामा छैटौं जित निकालेको हो ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । पन्जाबका लागि ओपनर प्रभसिमरन सिंहले ६५ बलमा १० चौका र ६ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेले भने साम करनले २० रन बनाए । त्यस्तै सिकन्दर राजा ११ रनमा अविजित रहँदा पन्जाबका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका लागि ईशान्त शर्माले २ विकेट लिए भने प्रबिन दुवे, अक्षर पटेल, कुलदिप यादव र मुकेश कुमारको भागमा समान १-१ विकेट रह्यो । पन्जाबले दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन मात्र बनायो ।
दिल्लीका लागि ओपनर डेबिड वार्नरले २७ बलमा १० चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै फिलिप साल्टले २१ रन बनाए । यी दुईले पहिलो विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए । त्यस्तै अमन खानले १६ , प्रबिन दुवेले १६ र कुलदिप यादव १० रनमा अविजित रहँदा दिल्लीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पन्जाबका लागि हरप्रित ब्रारले ४ विकेट लिए भने राहुल चहर र नाथन एलिसको भागमा समान २-२ विकेट रह्यो । जितसँगै पन्जाब १३ खेलमा छ जित र छ हारसहित १२ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिदै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ भने समान खेलमा चार जित र आठ हार सहित ८ अंक जोडेको दिल्ली अंक तालिकाको पुछारमा कायमै रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्