६ करोड रुपैयाँ भन्दा बढीको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा
मकवानपुर जिल्ला हेटौडा उपमहानगरपलिका १५ स्थित पुर्व–पश्चिम लोकमार्गबाट बैशाख २९ गते एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रज्ञापनपत्रमा ती जुत्ताको मूल्य अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) मुल्य लेखिएको छ ।
प्रहरीले प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विजक शंकास्पद रहेको भन्ने विशेष सुचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको छ ।
यसै गरी सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार ईलाकाबाट बैशाख ३० गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा ) ले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाईकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० के.जी गाँजासहित एउटा भारतीय मोटरसाईकल बैशाख ३१ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजादै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाईकल सोही ठाउँमा छाडी व्यक्ति भने फरार भएका थिए । नियन्त्रणमा लिएको गाँजा र मोटरसाईकल आवश्यक कारवाहीको लागि स्थानिय प्रहरीमा बुझाईएको छ ।
प्रतिक्रिया राख्नुहोस्