अस्पतालहरुको सुधारमा बालेनको कडा कदम
विकासको परिभाषा नै बदल्ने सोच र योजनाका साथ अघि बढिरहेको काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सीपमूलक तालिम संचालन गरेर नयाँ अभ्यासको थालनी गरेको छ ।
अब महानगर महानगरभित्रका अस्पतालहरुको सुधारमा लाग्ने भएको छ । महानगरप्रमुख बालेन शाहले लक्षित वर्गलाई १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराएको विवरण अस्पतालले टाँस गनुपर्ने र प्रत्येक महिना उक्त विवरण महानगरमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।
यहि जेठ २ गते महानगरको स्वास्थ्य विभागले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पालना गर्न सूचना जारी गरेको थियो । जसअनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या निःशुल्क छुट्याउनपर्छ ।
महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यन्वयन गर्न आग्रह गर्दै प्रमुख साहले कानुन बमोजिम सेवाा उपलब्ध गराउन र यसको कार्यान्वयनको विवरण प्रत्येक महिनाको १० गतेसम्म महानगरमा पठाउनु पर्ने रविवरण नपठाए काठमाडौँ महानगरपालिकाबाट नियमानुसार कारवाही हुनेछ चेतावनी दिनुभएको छ ।
बालेनले भन्नुभएको छ- “स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई अनिवार्य निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ । यस व्यवस्थाबमोजिम अतिरिक्त लक्षित वर्गका विरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गर्न आग्रह गर्दछु ।”
यस्तै, विभागले जारी गरेको सूचनामा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन र अस्पतालभित्रका चमेनागृहमा खाद्य गुणस्तर कायम राख्न सूचना जारी गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्