जन सरोकार

नक्कली शरणार्थी प्रकरणमा ३२ जना संलग्न, २४ करोड रुपैयाँ ठगी भएको उजुरी

नेपाल प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली धन्दामा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको छ । हालसम्म प्राप्त जाहेरी अनुसार यो गिरोहले कम्तिमा २४ करोड रुपैयाँ असूली गरेको देखिएको छ ।

यस प्रकरणमा पूर्व गृहमन्त्री, उपप्रधानमन्त्री, पूर्वसभासद, वहालवाला सचिव, तत्कालीनन गृहमन्त्रीका सुरक्षा सल्लाहकार, भुटानी अधिकारवादी नेता टेकनाथ रिजालसहित १६ लाई पक्राउ गरिएको छ भने केहीलाई पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले यो संगठित अपराधमा हालसम्म ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको र थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिने बताउनुभयो ।

एसएसपी कार्कीका अनुसार प्रहरीले स्पष्ट संलग्नता देखिएका ३२ जनालाई प्रतिवादी बनाएर सोमबार (जेठ ९ गते) रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाउँदैछ ।

आरोपीहरुविरुद्ध ठगी, कीर्ते र संगठित अपराधको कसूरमा मुद्दा चलाउन सिफारिस गरिनेछ भने केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिने उहाँले बताउनुभएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईकै योजनामा नक्कली शरणार्थी प्रकरणको योजना बुनिएको निष्कर्ष निस्किएको छ ।

रायमाझी र राईले लगानीकर्ताका रुपमा ललितपुरका सानु भण्डारी र मोरङका केशव दुलाललाई जोडेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दा चलाएको प्रहरीको निष्कर्ष छ । प्रहरीले १२ चैत २०७९ मा दुलाल, भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङको पथरीशनिश्चरेका पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए ।

प्रहरीका अनुसार गुरुङ र राईलाई उनीहरुले विभिन्न व्यक्तिबाट रकम उठाउन प्रयोग गरेका थिए । राई मोरङस्थित शिविर नजिककैका व्यक्ति भएकाले पनि उनीहरुले सहयोगीका रुपमा राखेको पाइएको अधिकृतहरुको दाबी छ ।

प्रहरीका अनुसार भण्डारी र तत्कालीन उर्जामन्त्री रायमाझी ललितपुरमा छिमेकी हुन् । ‘नेपाल स्टालाइट टेलिकम कम्पनीमा काम गरिरहेका बेला उनलाई इन्द्रजित राईसँग भेट्न पठाएको देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसपछि राईले शरणार्थी बनाएर विदेश पठाएर रकम उठाउन सक्नेबारे उनलाई बताएर यो काममा जोडेको देखिन्छ ।’

अरु राजनीतिक मेसो मिलाउनलाई दुलाल पनि प्रयोग भएको प्रहरी अधिकृतहरु बताउँछन् । दुलाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला निजी सहायक थिए । त्यतिबेलाकै चिनजान र सम्बन्धलाई प्रयोग गरेर उनले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा प्रयोग गरेको अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार रायमाझी र इन्द्रजितसहितको समूहले भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि भन्दै अध्ययन कार्यदल गठन गरेर त्यसमार्फत नयाँ शरणार्थी थपेर अमेरिका पठाउने योजना बनाएका थिए ।

पछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेका बेला उनीहरुले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेमार्फत प्रतिवेदन नै कीर्ते गराएको अधिकृतहरु बताउँछन् । पाण्डेले स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा राखिएको गोप्य प्रतिवेदन घर लगेर एक सातापछि फर्काएको पाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.