नेपालमा सिस्नुका बारेमा नजान्ने, नसुन्ने कमै होलान् । केही दशक अघिसम्म गाउँघरमा गरीबको छाकटार्ने वनस्पतिको रुपमा रहेको सिस्नुको औषधिय गुणहरुबारे मानिसले जान्न थालेपछि यसको उपयोग बढेको छ ।
पहिले पहिले सजायँ दिन सिस्नी पानीमा चोपेर हिर्काउने गरिन्थ्यो । गाउँघरमा यो चलन आजभोलि पनि होला । सिस्नीपानी लगाउने भनेर भन्नुको अर्थ बाहिरी चोट नदेखिने तर लामो समयसम्म यातना पाउनु हो । अट्रिक्यसी प्रजातिमा रहेको सिस्नु नेपालका हरेक क्षेत्रमा पाइने भए पनि विशेष गरी पहाडी क्षेत्रमा पाइन्छ ।
सिस्नुमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ । त्यसैले सिस्नुपानी लगाउने भन्ने गरिएको हो ।
बाहिरबाट एकसरो हेर्दा यस्तो पोल्ने सिस्नु कसरी खाने त ? यसको आफ्नै तरिका छ । सिस्नु पानीमा उमालेपछि पोल्ने र सुन्निने तत्वहरू नास भएर जान्छन् । पोल्ने र सुन्निने तत्वसंगै भिटामिन ए, भिटामिन सी, भिटामिन डी, आइरन पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थले भरिपूर्ण हुन्छ ।
सिस्नुमा पौष्टिक तत्व मात्र होइन औषधीय गुण पनि हुन्छ । मानिस वा पशुको हातखुट्टा भाँचिएमा सिस्नुको लेपन लगाएर काम्रो बाँध्ने चलन छ । त्यस्ता बिरामीलाई सिस्नु खुवाउने चलन छ । सिस्नु खुवाएपछि चाँडो निको हुने हामीले देखेका भोगेका पनि छौँ ।
सिस्नुको फूल पात, जरा, डाक्ला लगायत सबै खान सकिन्छ । सिस्नुको मुना र फूललाई तरकारीको रूपमा पकाएर खान सकिन्छ । साथै यसको फूल, पात, मुन्टा सुकाएर राखेर पछिसम्म पनि खान सकिन्छ ।
यसका अतिरिक्त हप्ताको एक दिन सिस्नु खानाले पेटमा भएका सबै विकार दिसाको माध्यमबाट बाहिर जान्छ । जसले गर्दा हाम्रो शरीर स्वस्थ हुन्छ ।
उच्च रक्तचाप भएका मानिसले सिस्नु खाँदा निकै लाभ मिल्नका साथै नियन्त्रण हुन्छ भने कपाल झर्न बाट रोक्छ र अनुहार चम्किलो बनाउनका साथै छालामा भएका दाग धब्बाहरू हटाउँछ ।
यसै गरी पिसाबको संक्रमण भएको हटाउन मद्दत गर्छ । साथै पिसाब पोल्ने समस्याबाट छुटकारा समेत दिलाउँछ । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ र शरीरका हाड जोर्नीमा भएको समस्या समाधान हुन्छ ।
यसै गरी मिर्गौलाको समस्या, दम डायबिटिज लगायतका समस्याबाट राहत मिल्छ भने शरीरमा रगत उत्पादन गर्ने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
सिस्नो महिला स्वास्थ्यका लागि पनि अति लाभदायी मानिन्छ । यसकोा नियमित सेवनले अनियमित महिनावारीमा भएको समस्या हटाउँछ । साथै अन्य स्त्री रोगहरूबाट पनि छुटकारा दिन्छ साथै आँखा तेजिलो बनाउँछ ।
यति मात्र होइन, बच्चैदेखि सिस्नु खुवाउने हो भने बालबालिकाको स्वास्थ्य अत्यन्त बलियो हुन्छ । सानैदेखि सिस्नु खाएर हुर्किएका बच्चाको हड्डी बलियो पनि हुन्छ ।
सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अन्डा पार्ने, मासु स्वादिलो हुने र अन्डासमेत गुणस्तरीय हुने देखिएको छ ।
सिस्नु मानव स्वास्थ्यका लागि जति लाभदायी छ त्यति नै ग्रामीण अर्थतन्त्रका लागि पनि महत्वपूर्ण छ । आजभोलि सुस्नुको रेसाका कपडाहरु बन्न थालेका छन् । यिनको माग नेपालमाभन्दा विदेशमा बढी छ । यसर्थ पनि सिस्नु आर्थिक, सामाजिक रुपमा निकै महत्वपूर्ण छ ।
सिस्नोको विशेषताहरु जसरी फैलिदै गयो गरीबले खाने झार भन्ने मान्यता पनि हराउँदै गयो । आजभोलि धनाढ्यका घरदेखि पाँचतारे होटलसम्म सिस्नुका परिकार बन्दछन् । यति महत्वपूर्ण वनस्पतिको संरक्षण र यसको व्यावसायिक खेतीतर्फ ग्रामीण जनतालाई आकर्षित गर्ने हो भने स्वास्थ्य र धन दुबै एकसाथ प्राप्त हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्