रविको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीको दह्रो मुटु कहाँ गयो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने माग गर्नुभएको छ ।
बुधबारको प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै सभापति लामिछानेले यो प्रकरणमा मुछिएका मान्छेहरु हेर्दा राज्यमा विश्वासको वातावरण बन्द भएको बताउँदै यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानविन गर्नुपर्ने माग गर्नुभएको हो ।
सभापति लामिछानेले दिनदहाडै बालुवाटारमा, सिंहदरबारमा र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै नाम मुछिएका सबैलाई छानविनको दायरामा ल्याउन पनि माग गर्नुभयो ।
सभापति लामिछानेले यो प्रकरणमा जजसको नाम आएको छ, तिनलाई सोधपुछसमेत गर्न नहुने गरी किन डराएको भन्ने प्रश्न समेत गर्दै नाम मुछिएकाहरु सबैलाई सोधपुछ समेत नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ? यसकारण हरेक नाम आएका मान्छेसँग सोधपुछ हुनुपर्यो, उनलाई कारबाहीको दायरामा ल्याउनुपर्यो । खुट्टा कमाउनु भएन ।’
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आआफ्नो स्थानबाट उठेपछि सभामुखले देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए । तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोलेका थिए ।
प्रतिक्रिया राख्नुहोस्