अर्थ

विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब, दश महिनामा १० खर्ब बढी विप्रेषण

चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ । त्यसै गरी यो दश महिनामा १० खर्ब बढी विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा २०८० वैशाख मसान्तमा १७ दशमलव छ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा २०८० वैशाख मसान्तमा २४ दशमलव एक प्रतिशतले वृद्धि भई रु १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकामा २०८० वैशाख मसान्तमा शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई रु एक खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ । गत वैशाख मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव छ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव दुई महिनाको वस्तु आयात र नौ दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यसै गरी चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव चार प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव दुई प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको सङ्ख्या ५१ दशमलव चार प्रतिशतले वृद्धि भई चार लाख २१ हजार दुई सय ७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा तीन दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३८ हजार नौ सय ७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या एक सय ८५ दशमलब पाँच प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शून्य दशमलव तीन प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.