राजनीति

पूर्वराजाले बोल्यो कि गणतन्त्र सिद्धिन्छ भन्नु नेताहरुको कमजोर मानसिकताको उपज

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराजाले केही बोल्यो कि गणतन्त्र जान्छ, सिद्धिन्छ भनेर बोल्नु नेताहरुको कमजोर मानसिकताको उपज भएको टिप्पणी गर्नुभएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै डा. कोइरालाले पूर्वराजाले बोल्ने बित्तिकै गणतन्त्र गयो, समाप्त हुन थाल्यो भनेर बुझ्न गलत भएको र त्यसरी गणतन्त्रको समाप्त पनि नहुने बताउनुभएको हो ।

कार्यक्रममा पार्टीभित्र युवा पुस्ताको उपस्थिति बलियो रहेकाले कांग्रेस कमजोर भयो भन्ने कुरा हल्ला मात्र भएको भन्दै उहाँले पार्टी जनतासँग भने टाढिएको बताउनुुभययो ।

जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको उल्लेख गर्दै नेता कोइरालाले पार्टीलाई जनतासँग सही ढङ्गले जोड्न नसके कांग्रेसको औचित्य गुम्दै जाने बताउनुभयो ।

उहाँले युवा पुस्ताले कांग्रेसलाई बलियो बनाउँदै आगामी निर्वाचनमा वडा, पालिकादेखि संसद्सम्म कांग्रेस एक्लैले उम्मेदवारी दिएर आफ्नो अस्तित्व बलियो बनाउने बताउनुभयो ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यहरु रमा कोइराला, चन्द्रमोहन यादव, मदनकृष्ण श्रेष्ठ र गङ्गा अवाल, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, क्षेत्रीय सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री ले सम्बोधन गर्नुभएको थियो ।

त्यसै गरी मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पार्टीका प्रदेश सदस्य जयन्द्र खड्का, पार्टीका सूर्यविनायक नगर सभापति निशान ढुङ्गेल, कार्यक्रम संयोजक कृष्णमुरारी न्यौपाने, पार्टी सचिव यादव अधिकारीलगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजान नेतृत्व तहदेखि जिल्ला तहसम्मका नेता सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस जिल्ला सभापति एवम् कार्यक्रमका सभापति दुर्लभ थापाले पार्टीको भूमिकाप्रति आम कार्यकर्तामा असन्तुष्टि चुलिँदै गएको उल्लेख गर्दै पार्टीलाई बलियो बनाएर लैजान गुट उपगुटको अन्त्य हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.