सहकारीहरुलाई नियमन गर्दै बालेन
सहकारीहरुले वचतकर्ताको रकम ठगी गरेका समाचारहरु बाहिरिएका बेला काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ ।
![Balen](https://www.nepaljapan.com/wp-content/uploads/2023/04/Balen-1.jpg)
महानगरपालिकाको सहकारी विभागले सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको भन्दै उक्त निर्देशनन दिएको हो ।
महानगरप्रमुख बालेन शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई सङ्कटग्रस्त हुनबाट बचाऔँ ।”
सहकारी संस्था र संस्थाका शेयरधनी तथा बचतकर्तालाई अनुरोध गर्दै उहाँले मूल्यवृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्रमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको उल्लेख गर्नुभएको छ ।
महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकले दिने गरेका लिखित तथा मौखिक उजुरीको चाप बढेको उहाँको भनाइ छ ।
उहाँले यस्तो संवेदनशील समयमा सहकारीले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्नुभएको छ ।
महानगरले सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ । विवरण नबुझाउने सहकारी विघटन वा दर्ता खारेजी गर्ने व्यवस्था दफा ६६ मा छ
प्रतिक्रिया राख्नुहोस्