भोकमरी कायम राखेर विकास र मानवअधिकारका गफ दिनु निरथर्क
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचारगोष्ठी एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
उहाँले आफू विगतमा प्रधानमन्त्री हुँदा खान नपाएर र उपचार नपाएर कोही मर्नु नपरोस् भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प अघि सारेको स्पष्ट गर्नुभयो ।
कार्यक्रम जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)कै अनुशरणमा उक्त राष्ट्रिय सङ्कल्प आएको उल्लेख गर्दै अध्यक्ष ओलीले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको बताउनुभयो ।
“नेपालको संविधानको प्रस्तावनामा हामीले जबजकै सचेत प्रयासमा समाजवादोन्मुख शब्दावली राखका हौँ । हामी जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र वा सीमित व्यक्ति धनी हुने पुँजीवादी व्यवस्थाका पक्षमा छैनौँ ।”
अध्यक्ष ओलीले भन्नुभयो, “समानता र सामाजिक न्यायसहितको पूर्ण लोकतन्त्रका पक्षमा छौँ . कहिलेकाँही मोर्चामा हार खान सकिन्छ तर आन्दोलनले हार्दैन र हामी अविचलितरुपमा समाजको रुपान्तणका लागि लागिरहनुपर्छ । जबजको मार्गदर्शन पनि यही हो ।”
नेपाल ज्ञानभूमि र तपोभूमि भएको उल्लेख गर्दै अध्यक्ष ओलीले पुर्खाहरुको त्यो ज्ञान र योगदानको जगमा यस उर्बर र जीवनमय भूमि नेपाललाई समृद्ध बनाउन राजनीतिक दल र जनता लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्