उपप्रधानमन्त्री श्रेष्ठद्वारा छेन्दुमा अन्तर्राष्ट्रिय मेला अवलोकन
जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको बिहीबार अवलोकन गर्नुभएको छ ।
चीनका साथै विभिन्न देशका उद्यमी, व्यवसायीका स्टलमा पुगेर उहाँले मेला अवलोकन गर्नुभएको हो । सो मेलामा ५६ देश तथा क्षेत्रका व्यवसायीको सहभागिता रहेको छ । आजदेखि सुरु भएको मेलामा नेपाललेसमेत सहभागिता जनाएको छ । मेला आगामी जुलाई ३ सम्म चल्नेछ ।
नेपालले सन् २०१३ देखि सो मेलामा सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय छेन्दु चीनकै व्यापारिक क्षेत्रका रुपमा रहँदै आएको छ । चीनसँगको नेपालको कुल व्यापारको एक तिहाइभन्दा बढी यसै प्रान्तबाट हुने गरेको छ ।
मेलाको उद्घाटन सत्रलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले लगानी गरेर उचित प्रतिफल लैजान आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्