कर्पोरेट/पर्यटन

वायुसेवा निगमले मनायो ६५औँ वार्षिकोत्सव

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ६५औँ वार्षिकोत्सव मनाएको छ । दिवसका अवसरमा नयाँसडकस्थित निगमको केन्द्रीय कार्यालयमा आज वैदिक विधिअनुसार आकाश भैरवको पूजा आराधना गरिनुका साथै प्रभातफेरी आयोजना गरिएको छ ।

विगतका वर्षहरुमा औपचारिक कार्यक्रम गरेर दिवस भव्यरुपमा मनाइने गरिएको भए पनि निगमले यसपटक सामान्यरुपमा कार्यालय परिसरमै अनौपचारिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर वार्षिकोत्सव मनाएको हो ।

निगमको प्रधान कार्यालयबाट सुरु भएको पैदल यात्रा वसन्तपुर, आकाश भैरव मन्दिर, असन, जमल, घण्टाघर, शहीदगेट हुँदै निगमको प्राङ्गणमा आएर अनौपचारिक कार्यक्रममा परिणत भएको थियो ।

वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण कर्मचारी अनुशासित भई एकजुट भएर बाधा अड्चनलाई छिचोल्दै, राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्न पनि अनुरोध गर्नुभयो ।

वार्षिकोत्सवको अवसरमा असार ८ गते केन्द्रीय कार्यालयमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा निगमका एक सय ७२ जना कर्मचारीले रक्तदान गर्नुभएको थियो ।

त्यसैगरी निगमको केन्द्रीय कार्यालयमा असार १५ गते टेबल टेनिस प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ निगमका का।मु उपनिर्देशक शैलेश कंशाकार पहिलो र निगमका अध्यक्ष युवराज अधिकार दोस्रो हुनुभएको थियो ।

महिलातर्फ उपनिर्देशक सविना शाक्यले पहिलो र उपनिर्देशक प्रतिभा शर्मा दोस्रो हुनुभएको थियो । निगमले बिना तामझाम आर्थिक मितव्ययता अपनाइ वार्षिकोत्सव कार्यक्रम मनाइएको विज्ञप्तिमा जनाइएको छ ।

सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६५ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ ।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बैङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानका नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

स्थापनाको ६५ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । निगमको ऋण दायित्व करिब रु ४८ अर्ब पुगेको छ । वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो ।

भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमले ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार भने राम्रो भइरहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.