राजनीति

तत्काल संसदीय समितिका सभापति चयन गर्ने समझदारी

तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ प्रतिनिधिसभा गठन भएदेखि संसदीय समितिहरु नेतृत्वविहीन रहेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको छलफलमा शीर्ष नेताले समितिका सभापति अविलम्ब चयन गर्ने प्रतिबद्धता जनाउनुभएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संसदीय समितिको सभापति चयन तत्काल गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ, अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ ।”

उहाँले समितिले छिट्टै नेतृत्व पाउनेमा विश्वास व्यक्त गर्नुभयो । समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।

गत वैशाख १५ गते प्रतिनिधिसभा अन्तर्गत १० विषयगत समिति गठन भएका थिए । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएका थिए । तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल हुन सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेतासँग परामर्श गर्नुभएको हो ।

सभामुख घिमिरेले सहमतिबाट सभापति नतोकिएका निर्वाचन प्रक्रियाबाट सभापतिको चयन हुने बताउनुभयो । संसदीय समितिलाई कसरी स्तरीय र प्रभावकारी गतिशील बनाउने भन्ने बारेमा नेताहरुसँग सल्लाह मागेको उहाँको भनाइ छ ।

“लामो समयदेखि संसदीय समितिको नेतृत्व चयन भएको छैन, ज्येष्ठ सांसदबाट समितिको अध्यक्षता गरेर काम भइरहेको छ । समिति सभापति चयन निर्वाचनमार्फत वा सहमतिमा टुङ्ग्याउनुहुन्छ भनि प्रश्न गरेको छु”, उहाँले भन्नुभयो, “यसमा तपाईंहरुले प्रक्रिया थाल्नुभएन भने मैले कदम चाल्नुपर्ने हुन्छ पनि भनेको छु ।”

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.