क्रिकेटखेल

एकदिवसीय विश्वकप छनोटको उपाधि श्रीलंकालाई, नेदरल्यान्ड्स १२८ रनले पराजित

जिम्बाब्वेमा सम्पन्न भएको एकदिवसीय विश्वकप छनोट खेलको उपाधि श्रीलंकाले जितेको छ । आइतबार भएको फाइनलमा विश्वकपमा छनोट भएको शीर्ष दुई टोली श्रीलंका नेदरल्यान्ड्सबीच भिडन्त भएको थियो ।

एकदिवसीय विश्वकप छनोट

फाइनलमा श्रीलंकाले नेदरल्यान्ड्समाथि १२८ रनको फराकिलो जित दर्ता गर्दै उपाधि जितेको हो । जिम्बाब्वे हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो । श्रीलंकाका लागि सहान अर्राचचिगेले ५७ रनको अर्धशतकीय पारी खेले भने कुशल मेन्डीसले ४३ रन बनाए ।

त्यस्तै पथुम निसन्काले २३ रन बनाई आउट भए भने सन्देरा समाराविक्रमाले १९, वानिन्दु हसरङ्गाले २९ र महेश थिकसनाले १३ रन जोडे । नेदरल्यान्ड्सको लागि लोगन भान बिक, रायन क्लिन, विक्रमजित सिंह र सदिक जुल्फिकरले समान २–२ विकेट लिए ।

२३४ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्स २३ दशमलव ३ ओभरमा १०५ रनमा नै अलआउट भयो । नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओड्वाडको ३३ रन बनाए भने भान बिकले २० रनमा अविजित रहँदा विक्रम सिंहको १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

श्रीलंकाको लागि महेश थिकसेनाले ४ विकेट लिए भने दिलसान मधुसन्काले ३ विकेट लिँदा वानिन्द्र हसरङ्गाको भागमा २ विकेट रह्यो । विश्वकप छनोटमा नेपाल सहित १० राष्ट्रको सहभागी रहेको थियो । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका थिए ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.