हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाउनेप्रति मन्त्री किरातीद्वारा दुःख व्यक्त
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
जनकपुरधाममा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै सोकसन्तप्त परिवारजमा समवेदना प्रकट गर्नुभयो । उहाँले सरकारले दुर्घटनाको यथार्थ छानबिन गर्ने बताउनुभयो ।
मन्त्री किरातीले आफू मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ‘सेफ्टी फस्ट’ को नीतिअनुसार नेपाली आकाशलाई सुरक्षित बनाउने काम गर्न सबैलाई आग्रह गरेको पनि बताउनुभयो । “हुन त आकाशमा के हुन्छ भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन । तथापि प्राविधिक तथा अन्य कारणले हुने दुर्घटनालाई रोक्न अधिकतम सतर्कता अपनाउनुपर्छ भन्ने सरकारको स्पष्ट नीति छ”, मन्त्री किरातीले भन्नुभयो ।
त्यसैगरी उहाँले मंगलबार भएको हेलिकप्टर दुर्घटनाबारे सरकारले अध्ययन समिति बनाएर छानविन गर्ने र दुर्घटनाको कारणसमेत पहिचान गर्ने बताउनुभयो ।
मंगलबार बिहान ९ः५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडान भरेको कल साइन ९ एनए–एमभी भएको हेलिकप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएकामा सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । हेलिकप्टरमा सवार पाइटलसहित छ यात्रु सबैको मृत्यु भएको थियो । हेलिकप्टरमा पाँच जना मेक्सिकाली नागरिक रहेका थिए ।
प्रतिक्रिया राख्नुहोस्