सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताउनुभएको छ ।
शरदचन्द्र शाह मेमोरियल फाउण्डेनको आयोजनामा लेखक नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकको मंगलबार काठमाडौँमा विमोचन गर्दै उहाँले सरकार र निजी क्षेत्र नमिलीकन नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताउनुभयो ।
“निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको छ, सबै मिलेर खेलकुद क्षेत्रको विकासमा जुट्नुपर्छ”, मन्त्री लिम्बूले भन्नुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताउनुभयो । इमान्दार प्रयासका साथ आफू नेपालको खेल क्षेत्रको विकासमा लागेको उहाँको भनाइ थियो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले सरकारले खेलकुद क्षेत्रमा कम लगानी गरेको भन्दै अहिलेको लगानीले खेलकुद क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो । उहाँले साउथ एशियन खेल नेपालले सुरुआत गरेको स्मरण गर्दै नेपालको खेल क्षेत्रको विकासमा शरदचन्द्र शाहको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । वरिष्ठ पत्रकार एवं समालोचक पी खरेलले पुस्तकले नेपालको खेलकुद क्षेत्रको इतिहासलाई उजागर गर्न खोजेको बताउनुभयो ।
पुस्तकका लेखक अर्यालले राणाकालदेखि पञ्चायतकालसम्मको खेलकुदलाई पुस्तकमार्फत समेटिएको उल्लेख गर्नुभयो । नेपालले पछिल्लो समय खेलकुद क्षेत्रमा राम्रो प्रगति हासिल गरेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्