देखिन छाडे ‘फोटो स्टुडियो’
समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे । यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे । आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ ।
टीकापुरकी सिर्जना पण्डित चाडपर्व तथा घरमा केही उत्सव हुँदा सम्झनाका लागि स्टुडियोमा गएर फोटो खिचाउनुहुन्थ्यो तर अचेल समयले उहाँलाई बदलेको छ । उहाँले फोटो स्टुडियो नदेखेको एक दशक पुग्यो । “मोबाइल तथा घरमै क्यामरा भित्रिएपछि फोटो खिच्न स्टुडियो जानु परेन”, उहाँले भन्नुभयो, “आजभोलि फोटो प्रिन्ट गरेर राख्ने चलन पनि हरायो । पुराना फोटो छन् कहिलेकाहीँ हेरिन्छ, रमाइलो लाग्छ ।”
अर्की महिला टीका चन्दको अनुभव पनि यस्तै छ । पहिला स्टुडियोमा फोटो खिच्न जाँदा रकमको जोहो गर्ने, पहिल्यै पूर्वतयारी गर्ने गरेकी टीका पनि आजभोलि स्टुडियो जानुहुन्न । “पहिलाको फोटोको महत्व छुट्टै हुन्थ्यो । साथीहरुसँग सल्लाह गरेर नयाँ लुगा किनेका बेला, विद्यालयका कार्यक्रममा, कतै पिकनिक जाँदा खिचिन्थ्यो”, उहाँले भन्नुभयो, “त्यो बेलाका फोटोको महत्व छुट्टै थियो । अहिलेका फोटोको महत्व छैन । सामाजिक सञ्जालमा राख्नका लागि मात्र खिचिन्छ ।”
टीकाले समय समयमा पूराना फोटोका एल्बम छन् हेर्नुहुन्छ, यसरी हेर्दा रमाइलो लाग्ने उहाँको भनाइ छ । कैलालीकै नीता खड्का भण्डारी पनि विगतमा खुबै रहर गरेर स्टुडियोमा फोटो खिच्न जानुहुन्थो । आजभोलि उहाँ पासपोर्ट साइजका फोटाका लागि मात्र स्टुडियो जानुभएको छ । “त्यो बेला फोटो खिच्न जाने भनेपछि धेरै रमाइलो लाग्थ्यो”, उहाँले भन्नुभयो, “स्टुडियोमा पालो कुरेर, लाइनमा बसेर फोटो खिचेको अझै याद छ ।”
नीताले विवाहका फोटो, बच्चाहरु साना हुँदाका फोटो पनि सजाएर राख्नुभएको छ । उहाँसँग चार एल्बम अझै छन् । “साथीहरुको समूहमा खिचेका एक फोटोबाट दर्जनौँ फोटा बनाउने गरिन्थ्यो”, उहाँ भन्नुहुन्छ, “सबैले एउटै खालका फोटा राख्ने गरिन्थ्यो ।”
आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । यसमा आएका प्रतिक्रिया हेरेर रमाउँछन् ।
कैलालीकी मीना कुँवरले पनि स्टुडियो नदेखेको धेरै वर्ष भयो । “पहिला वर्षमा पाँच÷छ पटक स्टुडियो गइन्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले मोबाइलले फोटो खिचे पनि प्रिन्ट गरेर राख्ने चलन हरायो ।” दुई दशकदेखि टीकापुरस्थित मनकामना फोटो स्टुडियो सञ्चालन गरिरहनुभएका सञ्चालक पदम विष्टको अनुभव पनि यस्तै छ । विगतमा स्टुडियोमा मानिसलाई पालो कुराएर फोटो खिच्ने पदमकहाँ आजभोलि फोटो खिच्न निकै कम आउँछन् । आउने पनि ‘पासपोर्ट साइज’को फोटोमात्रै खिच्न आउँछन् । फोटो खिचेरै विगतमा स्टुडियो चलाएका पदमले आजभोलि स्टुडियोमा अन्य सेवा पनि दिन थाल्नुभएको छ ।
“मैले पनि स्टुडियो खासै नचलेपछि आजभोलि प्रमाणपत्र, मायाको चिनो, फोटो फ्रेम, ब्यानर प्रिन्ट, फोटोकपीजस्ता सेवा दिन थालेको छ”, उहाँले भन्नुभयो, “सुरु सुरुमा व्यवसाय सुरु गर्दा चाडपर्वका बेला स्टुडियोमा भीड हुन्थ्यो । विभिन्न संस्कृति झल्कने पोसाकमा फोटो खिचाउने आउँथे ।”
स्टुडियो सञ्चालकले थारु समुदाय, मगर समुदाय र नेपाली पोसाकका कपडा र गहना स्टुडियोमै राखेका हुन्थे । यी कपडा र गहना लगाएर फोटो खिचाउने पनि उत्तिकै हुन्थे । एउटा फोटो खिच्न पनि तयारी गरेर, कुरेर खिच्नुप¥थ्यो । “बिग्रिएमा रिल खेर जान्थ्यो, त्यसैले मानिस तयारी गरेर खिच्थे”, उहाँ भन्नुहुन्छ, “हामीलाई पनि व्यापार राम्रो भएपछि रमाइलै लाग्थ्यो । आजभोलि स्टुडियोमा फोटो खिच्ने मानिस आएपछि दङ्ग पर्र्छौ ।”
शिक्षक तारा साउँद सामाजिक सञ्जालको प्रयोगले फोटो खिच्ने र सार्वजनिक गर्ने तरिका बदलिएको बताउनुहुन्छ । “हरेक कार्यका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, विगतमा खिचिने फोटो वर्षौंसम्म स्मृतिमा रहेका छन्”, उहाँ भन्नुहुन्छ, “आजभोलि सामाजिक सञ्जालमा सुरक्षित हुन्छन् । समय र प्रविधिले मानिसलाई बदलेको छ ।” शिक्षक साउँद सामाजिक सञ्जालमा व्यक्तिगत फोटो, पारिवारिक फोटो सार्वजनिक गर्नुका जोखिम पनि त्यतिकै रहेको बताउनुहुन्छ । “मानिसका लुगा कपडा, गरगहना र परिवारको विवरण सामाजिक सञ्जालमा राख्नु त्यति राम्रो होइन”, उहाँ भन्नुहुन्छ, “एकातिर आफँैले फोटो खिच्दा समय र खर्च बचत हुन्छ, अर्कोतर्फ सामाजिक सञ्जालमा राख्दा यसले कहिलेकाहीँ जोखिम पनि हुनसक्छ ।”
प्रतिक्रिया राख्नुहोस्