एक क्वीन्टल सुन तस्करीको अन्तरदेशीय सञ्जाल : कस्तो छ हालसम्मको अनुसन्धान प्रगति ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिनुभएको छ ।
बिहिबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव अस्वीकार गर्नुभएको समाचार बाहिरिए पनि प्रधानमन्त्री प्रचण्डले राजश्व अनुसन्धान विभागसंगै सिआईबीलाई सो निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीले अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको हो । विभागले हालसम्म राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अनुसन्धान अघि बढाइरहेको थियो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको बताइएको छ ।
छलफलमा सहभागी महान्यायाधिवक्ता पोखरेलले प्रधानमन्त्री दाहालले अनुसन्धानको कानूनी पाटोबारे जिज्ञासा राखेपछि संगठित अपराध देखिएपछि नेपाल प्रहरीमार्फत अनुसन्धान गर्नुपर्ने राय राखेको समाचार सूत्रले बताएको छ ।
‘बैठकमा सुन बरामद भएपछि राजस्व चुहावट देखिएकाले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ, यसमा अन्यथा भएन । तर अनुसन्धान गर्दै जाँदा संगठित अपराधको तत्व फेला परेकाले कानूनी व्यवस्था अनुसार संगठित अपराधको पाटोमा नेपाल प्रहरीले अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
लगत्तै प्रधानमन्त्री दाहालले राजस्व चुहावटको विषयमा विभागले मुद्दा अघि बढाउने र संगठित अपराधको पाटोमा सीआईबीले थप अनुसन्धान गर्न निर्देशन दिएको एक सरकारी अधिकारीले बताए ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।
कस्तो छ हालसम्मको अनुसन्धान प्रगति ?
विभागले ३ साउनमा भन्सारबाट सुनसहितको सामग्री बरामद गर्दा सामग्री बाहिर ल्याउने ट्याक्सी चालक अशोक लामालाई पक्राउ गरेको थियो । त्यहीबेला भन्सार जाँच पासमा संलग्न एजेन्ट राजेन्द्र राई पनि पक्राउ परेका थिए ।
अर्को दिन विभागले नेपाल प्रहरीको विशेष ब्यूरोको सहयोगमा सुनसहितको सामग्री ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, उनका साथी हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङलाई पक्राउ गरेको थियो ।
थाप्तेनको बयानका आधारमा ४ साउनमा विभागको टोलीले बालुवाटारस्थित एक गोदाममा छापा हान्यो, जुन घर चिनियाँ नागरिकले भाडामा लिएको खुलेको थियो । घरधनीलाई बुझाएको राहदानीको फोटोकपीको आधारमा विभागले खोजी गरिदिन प्रहरीलाई आग्रह गरेको थियो ।
प्रहरी टोलीले १३ साउनमा चिनियाँ नागरिक ज्यास्याङ लिनलाई दरबारमार्ग नजिकै उत्तर ढोकामा लोकेट गरेको थियो । पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेको देखियो । विमानस्थलमा प्रहरीले उनलाई पक्राउ गर्यो र अध्यागमन विभागमार्फत राजश्व अनुसन्धान विभागको जिम्मा लगायो ।
१३ साउनमा तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङ पनि पक्राउ परेपछि अनुसन्धानको दायरा थप फराकिलो बनाउनुपर्ने निष्कर्ष सरकारी अधिकारीहरुले निकालेका थिए । किनकि, दावाको नाम चिनियाँ अपराधिक गिरोहसँग पटकपटक जोडिँदै आएको थियो ।
चिनियाँ नागरिकले चलाएको कल सेन्टर ‘स्क्याम’मा प्रहरीले चार वर्षअघि उनीविरुद्ध अनुसन्धान गरे पनि जोगिएका थिए । दावाको माओवादी केन्द्रका नेताहरुसँग पनि उठबस रहँदै आएको छ ।
विभागले गिरोहको सोह्रखुट्टे, बालुवाटार, लाजिम्पाट र टोखास्थित गोदाममा पनि छापा मारेको छ । त्यहाँबाट चार वटा सुन गाल्ने उपकरण बरामद भएको छ । सुन जोख्ने र अर्कै स्वरुपमा निकाल्नलाई आवश्यक सामग्री पनि बरामद भएको छ ।
सुन प्रकरणमा संगठित गिरोहको संलग्नता र यसमा भारत र चिनियाँ सुरक्षा निकायसँग समेत समन्वय गरेर विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले सीआईबीमार्फत अघि बढाउने निर्णय भएकोा बताइए पनि आधिकारिक रुपमा सार्वजनिक भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्