‘केही नयाँ गर्ने’ सोचमा स्थापित, एमालेबाट अलग
विकास र समृद्धिका अनौठो र आश्चर्यलाग्दा योजना बनाइरहने नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टीबाट अलग हुनुभएको छ ।
गत वर्षको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपलिकाको मेयरमा पराजित भएपछि निस्क्रिय रहनुभएका स्थापित पार्टीबाट अलग हुनुभएको हो ।
उहाँले हालै पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएसंगै एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको हो ।
पार्टीबाट बाहिरिए पनि आफ्नो अभियान र मान्यताबाट भने अलग नभएको स्थापितले बताउनुएको छ । उहाँले आफूले केही नयाँ गर्न खोजेको र यो पाँच सात वर्षदेखि केही ननयाँ प्रयोगहरु गरिरहेको बताउनुभएको छ ।
नेकपा एमालेले २०४७ सालमा केपी शर्मा ओलीको अध्यक्षतामा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापना गर्दा स्थापित महासचिव हुनुहुन्थ्यो ।
२०५४ सालमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित स्थापित त्यतिबेलाका चर्चित मेयर हुनुहुन्थ्यो । उहाँले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारा स्थापित गर्नुभएको थियो ।
उहाँकै पालामा काठमाडौंको मुहार फेर्ने कामको सुरुवात भएको थियो । त्यतिबेला पशुपति, माइतीघर, तीनकुने लगायतका ठाउँमा निर्माण भएका अव्यवस्थित घरटहराहरू भत्काइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्