आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरण लगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताउनुभएको छ ।
प्रेस चौतारी पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुन तस्करी प्रकरण लगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको उहाँको भनाइ छ ।
“हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ”, उहाँले भन्नुभयो, “उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, प्रतिपक्षको समान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको छ ।” आफूहरुले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने उहाँको भनाइ थियो ।
राज्यका सुरक्षा निकायप्रति आफूहरुको कुनै आशङ्का नरहेको उल्लेख गर्नुहुँदै महासचिव पोखरेल सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरु मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पार्नुभयो ।
दोषी नछुटोस् र निर्दोष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउनुहुँदै ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको स्पष्ट पार्नुहुँदै महासचिव पोखरेलले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाउनुभयो ।
मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता औँल्याउनुहुँदै उहाँले बलियो राजनीतिक शक्ति निर्माणका लागि नेकपा एमाले ‘मिसन २०८४’ अभियान सञ्चालन गरी बलियो राजनीतिक शक्ति निर्माणमा अघि बढेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा एमाले सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, एमाले नेत्री तथा पूर्वमन्त्री ज्वालाकुमारी साहलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्