पहिला नेपाली अनि मात्र जाति, धर्म र सम्प्रदाय
मुलुकमा कायम रहेकको जातीय, धार्मिक तथा सामाजिक सहिष्णुता र सद्भाव बिथोल्ने कुत्सित अभिप्राय बेलाबेलामा प्रकट हुने गरेको छ । जबजब मुलुकको राजनीति केही तरल अवस्थामा हुन्छ तब सहिष्णुता बिथोल्न खोज्ने तत्वहरु सल्बलाउन थाल्छन् ।
केही दिनयता धरानमा भएको सद्भावबिरोधी गतिविधिले सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको भत्काउने प्रयास भएको छ । पहिचानको नाममा आफ्नै घरको जग भत्काउन उक्साउनेहरुको भीड क्रमशः बढ्दै गएको सन्देश धरानले दिएको छ । तर, सबैले बुझ्नुपर्ने पक्ष के हो भने जुनसुकै जात, धर्म, सम्प्रदाय भए पनि हामी नेपाली हौं र हामी सबैले आफ्नो मौलिकपनको रक्षा गर्न सकेमात्र देशको सुरक्षा हुनसक्छ भन्ने चेतना आमनागरिकमा जागृत हुनु अपरिहार्य छ ।
धरानमा धार्मिक सांस्कृतिक विद्वेष फैलाउने र अवाञ्छित द्वन्द्वको वातावरण सिर्जना गर्ने जुन घटनाको प्रायोजन भएको छ त्यसको विरुद्धमा स्थानीय जनताहरू सडकमै पनि उत्रिएको देखियो । सामाजिक सद्भाव टुट्न नदिनका लागि सचेत नागरिक समुदायदेखि लिएर जनप्रतिनिहरू एवं राजनीतिक दलहरू सबै एकाबद्ध भै र्याली निकाल्दैर वक्तव्य जारी गरी सहिष्णु बन्न आग्रह गरेपछि अहिले धरान शान्त नै रहेको देखिन्छ ।
यद्यपि धरानमा घटेको गोरुको मासुभोजन प्रकरणको अन्तर्यमा रहेका प्रवृत्ति र सुनियोजित रुपमा प्रक्षेपण गरिएका गतिविधिहरूको कडा निगरानी हुनु जरूरी छ । पहिचानवादका नाममा जातीवादी राजनीतिलाई उकास्ने प्रकृतिका खेलहरू हरहालतमा त्यज्य छन् ।
नेपाली समाजको सद्भावपूर्ण बनोटकै परिणाम मान्नुपर्छ यो घटना विस्तारै मत्थर हुन पुगेको छ । तर, कहिले, कुन रुपमा पुनः प्रकट हुने हो यसै भन्नसकिने अवस्था छैन । नेपाली समाजको मौलिक विशिष्ठतालाई खल्बल्याएर नेपाल राष्ट्रलाई कमजोर बनाउने र बाहिरी शक्तिकेन्द्रहरूका रणनीतिक स्वार्थका लागि नेपालभूमिको उपयोग गर्ने प्रपञ्चको दुश्चक्र घुमिरहेकै छ ।
जातीय पहिचानवादको नारा र अभियानका साथ नेपाली समाजको जरोमुलो नै विकृत पार्ने गरी विस्तारित भैरहेको ‘यशुवाद’ले सिर्जना गरेको दुष्परिणामको एउटा झिल्को अहिले धरान नगरमा देखिएको छ भने देशव्यापी रुपमा फैलिँदैगएको यशुवादरुपी धार्मिक सांस्कृतिक रुपान्तरणको सञ्जालले सिर्जना गर्नसक्ने भयावहताको संकेत यो काण्डले गरेको छ ।
आमूल राजनीतिक परिवर्तन र नयाँ सविधानको निर्माणपछि मुलुकले विधिको शासनको प्रत्याभूतिका साथै सामाजिक न्यायको अवधारणा मजबुत हुने जुन अपेक्षा जागृत भएको थियो ठीक सो विपरीतका गतिविधिहरू उत्कर्षमुखी भएका छन् ।
देशको आन्तरिक राजनीतिक गतिविधिलाई निहित स्वार्थअनुकूल उपयोग गर्न क्रियाशील बाहिरी शक्तिहरूको चलखेल निरन्तर बढिरहेको वास्तविकताले मुलुकको स्वाभिमान र अस्मिताकै रक्षाका लागि ठूलो चुनौती खडा गर्दैगएको विषयले निरन्तर चर्चा र बहसको रूप लिनेगरेको छ ।
शदियौंदेखि एकआपसमा सद्भाव राखी मिलेर बसेको नेपाली समाजलाई विभाजन गरी हरेक क्षे्त्रमा द्वन्द्वको बीजारोपण गर्ने र निहित उद्देश्य प्राप्तिका लागि त्यस्तो अवाञ्छित स्थितिको उपयोग गर्ने घातक प्रवृत्ति मौलाउँदै पनि गैरहेको छ ।
सत्ता र शक्तिको लालशाकै कारण विकृतिजन्य परिणाम ल्याउने जस्ता पनि प्रकृतिका गतिविधिलाई मलजल गर्ने प्रवृति विकसित हुँदैगएको छ । विधर्मी बढाउने अनि जात र धर्मका नाममा राजनीतिक उद्योग चलाउने काम रोकिन सकेमात्र सामाजिक सद्भावको धरातल जोगिनसक्छ ।
नेपालको वर्तमान कानूनले गाई गोरुको हत्या हिंसालाई निषेध नै गरेको छ भने त्यस्तो दुष्कार्यलाई दण्डनीय अपराध नै मानेको छ । तर धर्मनिरपेक्षताको आडमा धर्म रुपान्तरणको अभियान नै चलाएर सामाजिक विद्वेष फैलाउने र नेपाली समाजको सौन्दर्य र विशिष्ठता नै समाप्त गरी आन्तरिक द्वन्द्व र कलहको बिषवृक्ष खडा गर्ने काम सुनियोजित रुपमा भैरहेको प्रचूर आभासले सिंगो नेपाली समाजलाई झस्काइरहेको छ ।
धरानको अहिले बहुचर्चित हुन पुगेको प्रकरणले दिएको सन्देश के हो भने नेपालको आन्तरिक अवस्था खल्बल्याउन र नेपाललाई कमजोर बनाउन निरन्तर कोशिस भैरहेको छ । धरानबाट सल्किएको आगोको यथा समयमा नै समन हुन सकेन भने सामाजिक सद्भाव र धार्मिक– सांस्कृतिक सहिष्णुताको सेतु नै टुट्ने र अवाञ्छित द्वन्द्व निम्तिने भय छ । यो आम रुपमा सचेत र सावधान हुनुपर्ने गम्भीर पक्ष हो ।
प्रतिक्रिया राख्नुहोस्