जन सरोकार

हात्ती भगाउन रातभर जाग्राम

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् । साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभयो ।

“हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो ।” अध्यक्ष धनाडीले भन्नुभयो, “एक जनाको घरमा क्षति पुगेको अन्न बालीमा धेरै नोक्सान पुगाएको छ ।” रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट ३०/३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेको उहाँले बताउनुभयो ।

“हात्ती भगाउन यहाँका स्थानीय आगो बालेर रातभर जाग्राम बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन ।” उहाँले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिको समयमा गस्ती गर्ने गरेको बताउनुभयो ।

स्थानीय लक्ष्मी रानाले हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको बताउनुभयो । “धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ”, उहाँले भन्नुभयो, “हात्तीकै कारण यहाँ खेतसमेत बाझो हुन थालेको छ ।” गाउँमा हात्तीको आतङ्कले स्थानीय त्रसित भएको उहाँले बताउनुभयो । “यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न दिँदैन”, उहाँले भन्नुभयो, “हरेक वर्ष यहाँ भारतीय जङ्गलबाट हात्ती आउँछन् नोक्सान गरेर जान्छन् ।”

अहिले जङ्गल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको उहाँको बताउनुभयो । यसैगरी हात्तीले वेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा समेत किसानकोे धानबालीमा नोक्सान पुर्‍याउने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.