नेता जंगलदेखि महल पुगे, जनयुद्धका घाइतेको अवस्था उस्तै
तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा होमिएका युवाहरुका कारण अहिले नेताहरु जंगलदेखि महलसम्म पुगे तर युद्धका क्रममा घाइते हुनेहरुको अवस्था नाजुक नै छ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि भएको विस्तृत शान्ति सम्झौतामा जनयुद्धका घाइते, अपांगहरुको उचित व्यवस्थापन गर्ने उल्लेख गरिए पनि घाइतेहरुको व्यवस्थापन हुन सकेको छैन ।
यसै क्रममा जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा आबद्ध पीडितले घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूले आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गरी उनीहरूले जनयुद्धका घाइते, अपाङ्ग तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारसँग अपिल गरेका हुन् ।
नेतालाई जङ्गलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरूले बताएका छन् ।
राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपाङ्ग र घाइतेलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।
जनयुद्धको घाइते चेतन सिग्देलले सरकारले आफूहरूलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने माग गर्दै आफूहरूको व्यवस्थापनमा राज्यले नजर अन्दाज गरेको खण्डमा सङ्घर्षमा उत्रिने बताउनुभयो ।
“हामी काम गरिखान नसक्ने घाइते कयौँ साथीका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस्, यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामी सङ्घर्षमा जानेछौँ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्