उद्योगी तथा व्यवसायी समस्यामा परेर निरुत्साहित हुने अवस्था आयो : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशमा छाएको आर्थिक मन्दीका कारण उद्योगी तथा व्यवसायी समस्यामा परेर निरुत्साहित हुने अवस्था आएको बताउनुभएको छ ।
सो पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनको सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले एमाले नेतृत्वमा सरकार छँदा उच्च अङ्कको आर्थिक वृद्धि भएको समेत बताउनुभयो । “अहिले जनताको जीवन असहज बनेको छ, व्यापार व्यवसाय ठप्प छन् । उद्योगी व्यवसायी सङ्कटमा परेका छन् । सरकारले त्यसतर्फ ध्यान दिएका छैन”, पोखरेलले भन्नुभयो ।
त्यस्तै महासचिव पोखरेलले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताउँदै एमालेकै दबाबमा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन भएको दाबी गर्नुभयो ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्षमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “म यहीँबाट घोषणा गर्छु, यो पार्टीमा अझै १० वर्ष केपी शर्मा ओलीको नेतृत्वको विकल्प छैन । पार्टीमा अहिले एउटै केन्द्र छ । जसका कारण एमालेले सबै पालिकामा एकैपटक अधिवेशन गर्न सफल भयो, यो पार्टीमा एकीकृत र केन्द्रिकृत नेता हुँदाको परिणाम हो ।”
उपमहासचिव गुरुङले नयाँ राजनीतिक दलसँग कुनै योजना, दर्शन र कार्यक्रम नरहेको जिकिर गर्नुभयो । एमालेका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले युवाशक्ति देश छाडेर गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टीका केन्द्रीय सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य एवं कास्कीका इन्चार्ज थममाया थापा, प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी लगायतले पार्टीलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
एमाले गण्डकीको अधिवेशन भोलिसम्म चल्नेछ । अधिवेशनको दोस्रो दिन बन्द सत्र तथा नयाँ नेतृत्व चयन हुनेछ ।
अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका नौ सय सात प्रतिनिधि सहभागी भएको एमाले गण्डकीका उपसचिव एवं प्रचारप्रसार उपसमिति संयोजक रश्मी आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्