राजनीति

आमाको नामबाट नागरिकता लिन कठिन छैन

काठमाडौं । नेपालमा नागरिकता वितरण प्रक्रियामा अनेक विवाद कायम रहेका छन् । राजनीतिक लाभ–हानीलाई हेरेर नागरिकताका विषयमा अभिव्यक्ति दिने र काम गर्ने गरिएको छ ।

नागरिकता प्राप्ति सम्बन्धित पछिल्लो कानुनले आमाको नाममा नागरिकता लिन नसकिएको भन्ने गरिए पनि गोरखामा आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले मङ्गलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।

उमेर पुगेर पनि नागरिकता बनाउन नपाएका बानियाँलाई आमाको नामबाट वंशजका आधारमा प्रदान गर्ने गरी गृह मन्त्रालयले गरेको परिपत्रअनुसार नागरिकता प्रदान गरिएको हो ।

नेपाल सरकारबाट नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएपछि कार्यालयबाट आमाको नामबाट पनि नागरिकता वितरण गर्न सुरु गरिएको प्रजिअ भुसालको भनाइ छ ।

नयाँ नियमावलीको व्यवस्थाअनुसार १६ वर्ष उमेर पुगेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

आमाको नामबाट नागरिकता पाउन निवेदक र निवदेकका आमाले बुबाको पहिचान नभएको स्वघोषणासहित जन्मदर्ता, आमाको नेपाली नागरिकता, आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, वडा कार्यालयकोे सिफारीससहित प्रशासनमा निवेदन दिनुपर्नेछ ।

त्यस्तै वडाध्यक्ष वा वडाध्यक्षले तोकेका जनप्रतिनिधि र निवेदकसँग सम्बन्धित दुईजनाले प्रशासनमा आएर सनाखत गरेपछि नागरिकता प्रदान गरिने उहाँले बताउनुभयो ।

यसअघि बाबुको नागरिकता अनिवार्य रहेकामा नियमावली संशोधन भएपछि बाबुको पहिचान नभएका व्यक्तिलाई पनि आमाका नामबाट नेपाली नागरिकता वितरण गर्न सुरु गरिएको हो ।

नेपालको संविधान २०७२ को धारा १२ मा यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ भन्ने व्यवस्था रहेको छ । यस आधारमा आमाको नाममा नागरिकता पाउन कुनै कठिनाई हुँदैन ।

तर, राजनीतिक सौदावाजीका लागि नागरिकतालाई चर्को विवादको विषय बनाइएको छ । अर्कातिर नागरिकता जस्तो सम्वेदनशील विषयममा माग गरेकै आधारमा, दवाव दिइएकै आधारा खुकुला प्रावधानहरु राखिनु पनि गलत हुन्छ ।

आमाको नामबाट नागरिकता प्राप्तिका लागि नेपाली नागरिकका हकमा कुनै समस्या छैन । तर, नेपालबाट विदेशमा विवाह गरेर जाने अनि छोराछोरीको नागरिकता नेपालमा बनाउने कुत्सित मनसाय राखिएको पाइन्छ । त्यस्तै नेपाली चेलीसंग विवाह गर्ने पुरुषले समेत नागरिकता पाउनुपर्ने माग समेत राखिएबाट नै स्पष्ट हुन्छ, नागरिकतामाथि कति ठूलो राजनीति भैरहेको छ भन्ने ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.