विना जानकारी नेपाली भूमिमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण कसरी सम्भव भयो ?
यही असोज २५ गते विहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विनाा जानकारी आफ्नै भूमि जस्तो गरेर नेपाली भूमि दार्चुला आएको विषयलाई लिएर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सरकार समक्ष प्रश्न गरेको छ ।
मोर्चाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक पत्र दर्ता गराउँदै नेपालको अभिन्न भूभाग दार्चुला जिल्लाको जोलिङकाङ र गुन्जीमा भ्रमण गर्न भारतीय प्रधानमन्त्रीलाई नेपालको कुन निकायले अनुमति दिएको हो भन्ने प्रश्न उठाएको छ ।
मोर्चाका अध्यक्ष फणिन्द्र नेपालद्वारा लिखित पत्रतत्कालीन प्रम खड्गप्रसाद ओली, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल र शेरबहादुर देउवालाई बोधार्थ गरिएको छ ।
विभिन्नन १० बुँदा उठाएर दर्ता गरिएको पत्रमा भारतीय प्रधानमन्त्री नेपाली भूभागमा दलबलसहित जाने आधिकारिक सूचना भारत सरकारले सार्वजनिक गरेपछि त्यसलाई रोक्न नेपाल सरकारले किन कुनै प्रयास नगरेको भन्दै प्रश्न गरिएको छ ।
पत्रको पूर्णपाठ
मिति : २०८० असोज २६
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौँ
विषय : नेपालको भूभागमा इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको भ्रमण कसरी सम्भव भयो ?
प्रधानमन्त्रीज्यू ,
यही असोज महिनाको २५ गते बिहान ८:३० बजेदेखि नेपालको अभिन्न भूभाग दार्चुला जिल्लाका जोलिङकाङ र गुन्जीमा इन्डियाली प्रधानमन्त्री दामोदरदास मोदी उपस्थित भएर धार्मिक र राजनीतिक गतिविधि गरेको पुष्टि भएपछि नेपाली नागरिकहरूका मनमस्तिष्कमा अनेक प्रश्नहरू उब्जिएका छन् ।
ती प्रश्नहरूको उत्तर दिनुपर्ने नैतिक दायित्वको बोध गरी प्रधानमन्त्री कसरी मुखर बन्नुहुन्छ , नेपाली जनता त्यसको प्रतीक्षा गरिरहेका छन् ।
१• यही असोज महिनाको २५ गते बिहान नेपालको अभिन्न भूभाग जोलिङकाङ र गुन्जीमा भ्रमण गर्न इन्डियाली प्रधानमन्त्रीलाई नेपालको कुन निकायले अनुमति दिएको हो ?
२• इन्डियाली प्रधानमन्त्री नेपाली भूभागमा दलबलसहित जाने आधिकारिक सूचना इन्डियाली सरकारले सार्वजनिक गरेपछि त्यसलाई रोक्न नेपाल सरकारले के-कस्ता प्रयास गर्यो ?
३• लिम्पियाधुरासम्मको भूमि समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई तत्कालीन संसद्बाट सर्वसम्मत रूपमा पारित गरेपछि कालापानीबाट इन्डियाली सेना फिर्ता गर्न इन्डियाली सरकारसँग किन कुनै किसिमको संवाद भएन ?
४• कालापानी क्षेत्रमा इन्डियाले सैन्य संरचना विस्तार गर्दा र नेपाली भूभागमा सडक निर्माण गरेको देख्दा के कति कारणले यसलाई रोक्ने प्रयास भएन ?
५• यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने झिनो प्रयास पनि गरिएको देखिएन, किन ?
६• अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई औपचारिक रूपमा किन बुझाइएन ?
७• बैसठ्ठी वर्षदेखि निरन्तर थाती रहेको कालापानी क्षेत्रको समस्या समाधान हुन अब अझै कति समय लाग्छ ?
८• काली नदीको उद्गम पत्ता लगाउन अन्तर्राष्ट्रिय जलस्रोतविज्ञको सहायता लिने प्रयास अहिलेसम्म किन गरिएन ?
९• अद्यावधिक गरिएको नक्साअनुसार नेपालको क्षेत्रफल कति हो र किन सार्वजनिक गरिएन ?
१० • समष्टिमा नेपाली राष्ट्रियताको आधारबिन्दु के हो ?
माथिका यी प्रश्नहरूको उत्तर दिनुपर्ने नैतिक दायित्वको बोध गरी प्रधानमन्त्री कसरी मुखर बन्नुहुन्छ, नेपाली जनता त्यसको प्रतीक्षा गरिरहेका छन् ।
बोधार्थ:
तत्कालीन प्रम खड्गप्रसाद ओली
तत्कालीन प्रम झलनाथ खनाल,
तत्कालीन प्रम बाबुराम भट्टराई,
तत्कालीन प्रम माधवकुमार नेपाल,
तत्कालीन प्रम शेरबहादुर देउवा
प्रतिक्रिया राख्नुहोस्