एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पहिलो जित हासिल गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई पाँच विकेटले पराजित गर्दै अष्ट्रेलियाले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
भारतको लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३ दशमलव ३ ओभरमा २ सय ९ रनमा समेटिएको थियो । श्रीलंकाका लागि कुशल परेराले ७८ र पथुम निसन्का ६१ रन्को अर्धशतकीय पारी खेलेका थिए । यी दुईले पहिलो विकेटको लागि १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै चरिथा असलन्काको २५ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक रन जोड्न सकेनन् ।
अष्ट्रेलियाका लागि एडम जम्पाले चार विकेट लिए भने मिचेल स्टार्क र प्याट कमिन्सले समान दुई-दुई विकेट लिँदा ग्लेन म्याक्सवेलका भागमा एक विकेट रह्यो । श्रीलंकाले दिएको २ सय १० रनको लक्ष्य अष्ट्रेलियाले ३५ दशमलव दुई ओभरमानै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाका लागि मिचेल मार्सले ५२ र जोस इंग्लिसले ५८ रन अर्धशतकीय इनिङ खेले भने मार्नस लाबुशेनले ४० रन जोड्दा ग्लेन म्याक्सवेल ३१ र मार्कुस स्टोइनिस २० रनमा अविजित रहे ।
श्रीलंकाका दिलशान मदुशंकाले ३ विकेट लिए भने डुनिथ वेललेजको भागमा एक विकेट रह्यो । अष्ट्रेलियाले तेस्रो खेलमा पहिलो जित दर्ता गर्दै ३ खेलबाट २ अंक जोडेको छ भने जारी विश्वकपमा श्रीलंकाको यो लगातार तेस्रो हार हो।
प्रतिक्रिया राख्नुहोस्